फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली चिया चीनमा निर्यात हुने संभावनाप्रति नेपाली किसान उत्साहित

(GMT+08:00) 2018-04-11 14:33:12

भारत सरकारले चिया निर्यातमा जटिलता सिर्जना गरिरहेका बेला चीन सरकारले नेपाली चिया खरिदमा चासो देखाउन थालेको छ। चीन सरकारको चासोसँगै चिया उद्यमीमा नयाँ उत्साह थपिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। केही दिनअघि इलाम आउनु भएकी चिनियाँ राजदूत यु होङसहितको टोलीले इलामका स्थानीय निकायका पदाधिकारी र कारखाना सञ्चालकलाई भेटेर नेपाली चियाको बजारीकरणबारे चासो देखाएपछि उद्यमी उत्साहित भएका हुन्। राजदूत युले इलामको चिया कारखाना र चिया बगानको भ्रमणपछि यहाँको ब्ल्याक टी, ग्रिन टी र स्पेसल टीको बजारीकरणका विषयमा चासो राख्नुभएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो।

चिनियाँ टोलीले सन् २०१८ मा हुने अन्तर्राष्ट्रिय इम्पोर्ट एक्सपोर्ट एक्पोमा सहभागी हुन निमन्त्रणासमेत दिएको सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उर्गेन लामाले जानकारी दिनुभयो। राजदूत युले नेपाली चियाको गुणस्तर राम्रो भए पनि चीनको बजारमा यसबारे जानकारी कम भएको बताउनु भएको थियो। साना चिया उद्यमीको संस्था स्पेसियालिटी टी एसोसिएसन नेपाल (स्टान)का अध्यक्ष राजु शेर्माले चीन सरकारले नेपाली चियाको विषयमा चासो राख्नु सकारात्मक भएको बताउनुभयो।

भारतभन्दा चीनमा नेपाली चियाको मूल्य बढी रहेकाले चीनको बजार समात्न सके नेपाली चियाले फड्को मार्ने उहाँले बताउनुभयो। नेपाली चिया उद्यमी भारतले लगाएको सेन्टर फुड ल्याब (सीएफएल)मा परीक्षण गराएर मात्र भारत निर्यात गर्ने महँगो र झन्झटिलो प्रावधानदेखि नेपाल सरकारले यस वर्षदेखि सुरु गरेको एक्जिम कोडको समस्या झेलिरहेका छन्।

भारतले केन्द्रीय खाद्य परीक्षण प्रयोशालाको प्रमाण पत्र लिन लगाएको महँगो प्रक्रियाले चिया उद्यमीलाई भारतमा चिया बेच्न नसक्ने अवस्थामा रहेको शेर्माले बताउनुभयो। एउटा नमुना परीक्षण गर्न एक महिना लाग्ने भएकाले पनि व्यापारमा समस्या छ। भारत बाहेकका देशले अर्गानिक चिया मात्र रुचाउँछन्। अर्गानिक चियाको प्रमणीकरणमा एउटा कारखानाले दश लाखसम्म खर्च गर्नुपर्ने भएकाले साना उद्योगले अर्गानिक उत्पादन गर्न सकेका छैनन्। यसको विकल्पका रूपमा साना उद्योगले भारतमा चिया बिक्री गर्ने गरेको चिया उद्यमी गोपाल कट्टेल बताउनुहुन्छ।

साना चिया उद्योगका लागि स्वतन्त्र परामर्शदाताको रूपमा इलाममा काम गरिरहेका चिया विज्ञ आरसी नेपाल सीएफएल प्रकरणले नेपालको चियालाई भारतले निरुत्साहित गर्न खोजेको बताउनुहुन्छ। उहाँले परीक्षणका लागि भारतले गरेको कडाइले उद्यमी भारतका एक जना व्यापारीसँग मात्र कारोबार गर्न बाध्य बन्दै गएको बताउनुभयो।

कन्याम चिया सहकारीका अध्यक्ष खेम प्रधान सीएफएलका कारण भारतमा चिया बिक्री गर्न समस्या भएको बताउनुहुन्छ। उहाँका अनुसार एकभन्दा बढी व्यक्तिसँग चियाको कारोबार गरे अर्को सीएफएल परीक्षण गराउनु पर्छ। यो निकै महँगो हुने गरेको छ। सीएफएल भारतले खाद्य सामग्री जाँच गर्ने निकाय हो। यसको प्रमाणपत्र लिन मात्र भारतीय रुपैयाँ ६४ हजार अथवा एक लाख २४ हजार रुपैयाँ लाग्ने गरेको छ। प्रत्येक ६ महिनामा नवीकरण गर्नु पर्ने सीएफएल परीक्षणका लागि भारतीय रुपैयाँ १८ हजार अथवा २८ हजार आठ सय रुपैयाँ पर्ने गरेको छ।

यसका लागि एउटा उद्योगले थप दुई सय किलो चिया माग्ने गरेको छ। व्यवसायीका अनुसार एजेष्टसँग मिलाउँदा ८० किलोसम्म हुन्छ। ८० किलो चियाको मूल्य करिब ८० हजार हाराहारी हुने गरेको छ। यो परीक्षण नगराए भारतमा चिया बिक्री गर्न नसकिने उद्यमीहरू बताउँछन्।

यसअघि भारु ३० हजारमा सीफएल प्रमाण पत्र बन्ने गरेको थियो। नवीकरण गर्नका लागि दुई किलो चिया र भारु १२ हजार पुग्ने गरेको थियो। झन्डै दुई वर्षदेखि लागू भएको नयाँ व्यवस्थाले उद्यमीमा झन्झट र व्ययभार थपिएका कारण पनि किसान सीएफएल बनाएका कम्पनीलाई सस्तोमा चिया बेच्नु परेको कट्टेलले बताउनुभयो।

नेपालको चिया भारतबाहेक १८ भन्दा बढी देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ। तर साना चिया उद्यमीका लागि प्रशोधित चियाको मुख्य बजार भारत रहेको चिया तथा कफी विकास बोर्डको विवरणमा उल्लेख छ। नेपालको करिब ८५ प्रतिशत चिया भारततर्फ निर्यात हुने गरेको छ।

जानकारी तथा लेखहरु