फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा साउनबाट विद्युतीय सवारी

(GMT+08:00) 2018-04-11 14:36:08

लुम्बिनी क्षेत्रमा प्रदूषणरहित सवारीसाधन सञ्चालनको प्रकया अन्तिम चरणमा पुगेको छ। निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायत स्थानमा प्रदूषणरहित सवारीसाधन सञ्चालनको महत्वाकांक्षी योजना 'लुम्बिनी क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट' को काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव तथा योजना प्रमुख सरोज भट्टराईले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। "भैरहवा हुदै लुम्बिनी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गर्ने लक्ष्य अनुरुप काम अघि बढिरहेको छ। साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ," भट्टराईले भन्नुभयो। स्थानीय बासिन्दा र पर्यटकहरुका लागि लक्षित गरी सञ्चालनमा ल्याइन लागेको सवारीसाधन सौर्य उर्जामार्फत् चल्नेछन्। पहिलो चरणमा ५ वटा विद्युतीय बस र ११ वटा विद्युतीय भ्यान सञ्चालन हुनेछ।

यो योजनाका लागि एसियाली विकास बैंकको अगुवाइमा एसियन क्लिन इनर्जी फन्ड (एसिईएफ)ले करिब १२ लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ। "योजना एडीबीको सक्रियतामा पूर्ण रुपमा अनुदानका रुपमा आउने हो, यसलाई व्यवस्थित र नमुना तरिकाले सञ्चालन गर्नुपर्छ," भट्टराईले भन्नुभयो।

त्यसका लागि लुम्बिनीमा सोलार प्लान्ट जडान गरिने र त्यसबाट निस्कने ४०० किलोबाट विद्युत्बाट ब्याट्री चार्ज गर्ने तयारी भैरहेको इन्जिनियर भट्टराईले बताउनुभयो। सवारी साधनको ब्याट्री चार्जका लागि लुम्बिनी र गौतमबुद्ध विमानस्थलमा चार्जिङ स्टेशन खडा गरिनेछ। दुवै स्टेशन सौर्य उर्जामा आधारित रहनेछन् र यसका लागि एडिबीले १३ लाख ९० हजार अमेरिकी डलर थप अनुदान प्रदान गरेको छ। चार्जिङ स्टेशनमा २० वटा नियमित चार्जर र ५ वटा छिटो चार्ज हुने मेशिन जडान हुनेछ। लुम्बिनी क्षेत्रमा काम गर्दै आएको एडिबीको दक्षिण एसियाली पर्यटन पूर्वाधार आयोजनामार्फत प्रदूषणरहित वातानुकुलित सवारी साधनका लागि सहयोग रकम उपलब्ध भएको हो।

जानकारी तथा लेखहरु