फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरुङ खनेरै भए पनि लामाबगरबाट चीन जोड्ने नेपालका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2018-04-12 15:01:16

चिनियाँ राजदूत यु होङसँगै लामाबगर पुग्नु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्यूत् आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुग्नु भएका प्रधानमन्त्री ओलीले ६-७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै २ लेनको तयार भएको छ। "अब तिब्बत सिमाना पुग्न थोरै भएकाले कठिन भूगोलमा सुरुङ बनाएर भए पनि नाका खुल्छ," उहाँले भन्नुभयो "यसबारे म काठमाडौं फर्कनासाथ विशेष निर्णय हुन्छ।" प्रधानमन्त्री ओलीले नाका जोड्ने कुरा गर्दा चिनियाँ राजदूत यू होङ साथमै हुनुहुन्थ्यो।

भारत भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्री ओली राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणका क्रममा माथिल्लो तामाकोसी आउनु भएको हो। आयोजनाको बाँधस्थलको निरीक्षणका क्रममा अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको बाँध बनेपछि तिब्बत जोड्ने सडक निर्माणमा समस्या हुने बताउनुभयो। बाँधमा पानी भरिने भएपछि लामाबगरबाट उत्तर लप्चीतर्फको हिड्ने बाटो समेत नरहने भएकाले यसलाई चाँडै विशेष निर्णय गरेर ट्र्याक खोल्नुपर्ने बताउनुभयो।

दोलखाबाट निर्वाचित प्रदेश सांसद विशाल खड्काले लामाबगर नाका तातोपानी भन्दा पुरानो भन्सार भएकाले यसलाई चाँडै खोल्नुपर्ने बताउनुभयो। उहाँले यो नाका परम्परागत काठमाडौं र मिथिलाञ्चलको तिब्बतसँगको एक मात्र नाका भएकाले त्यसलाई सुचारु गराउन प्रधानमन्त्रीले विगतमा चीनसँग भएको सम्झौताअनुसार काम गर्नुपर्ने बताउनुभयो।

कठिन भूगोल र तामाकोसीको बाँधमा असर गर्ने हुँदा ४ वर्षअघि नै ९ सय मिटरको सुरुङसमेत डिजाइन भएर सडक विभागले भौतिक पूर्वाधार मन्त्रालयसम्म पुर्‍याएको छ। आयोजनाको बाँध बनेपछि हिड्ने बाटोसमेत नहुने हुँदा आयोजनाको बाँध बन्नुभन्दा अघि नै आयोजनाको बाँध क्षेत्रको सुरुङ वा बाहिरी बाटो जे भए पनि तयार गर्नु पर्ने विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले बताउनुभयो। आयोजनाका अधिकारीहरूले विगतदेखि नै प्रधानमन्त्रीसहित आयोजनास्थल आउने उच्च तहमा यसबारे अवगत गराउँदै आएका छन्।

लामाबगर भिट्टामोड उत्तर दक्षिण त्रिदेशीय लोकमार्ग थोरै लगानीमा बन्ने अहिलेसम्मकै छोटो हुनेछ। अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग उत्तरका ७ वटा नाका खोल्नेमा लामाबगर पनि रहेको छ। तर त्यसपछि कुनै प्रगति हुन सकेको छैन।

आयोजनाको निरीक्षणपछि प्रधानमन्त्री ओलीले आयोजनाको काम एक दिन पनि ढिला हुन नहुने बताउनुभयो। विभिन्न निकायले आयोजनाको काममा कुनै ढिलासुस्ती गरे सोझै आफूलाई जानकारी गराउन उहाँले निर्देशन दिनुभयो। "ढिलासुस्ती गर्ने जुनसुकै निकायलाई तत्कालै कारबाही गर्छु," उहाँले भन्नुभयो। ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ। उहाँले अब संशोधित कार्यतालिकाभन्दा एक दिन पनि ढिला नगरी आयोजना पूरा गर्न निर्देशन दिनुभयो।

आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि प्रधानमन्त्री ओलीले कार्यतालिका अनुसार काम गर्न निर्देशन दिनु भएको हो। आयोजनाको लागत र समय वृद्धि हुनुको कारणबारे प्रधानमन्त्रीले विशेष चासो व्यक्त गर्नुभयो। संशोधित कार्यतालिकाअनुसार आगामी असार मसान्तबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि सो अवधिमा आयोजना सम्पन्न हुने कुरा अनिश्चित जस्तै छ। आयोजना व्यवस्थापनले त्यसलाई पुनः कार्यतालिका संशोधन गरी आउँदो पुसबाट विद्युत् उत्पादन थाल्ने बताएको छ।

हाइड्रो मेकानिकल सामान(पेनस्टक पाइप) ढुवानीमा भएको ढिलाइ र स्थानीयवासी तथा आम नागरिकका लागि छुट्याइएको सेयर संकलनमा भएको ढिलाइका कारण आयोजनाको निर्माण अवधि अझै लम्बिने आशंका भइरहेका बेला प्रधानमन्त्री आयोजनास्थल पुगेकाले आयोजनाको कामले गति लिने विश्वास गरिएको छ।

आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भइसकेको छ। ३५ अर्ब २९ करोड सुरु लागत अनुमान गरे आयोजना ढिलाइ हुँदा लागत बढेर ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्र बैंकमा डलर सटहीको समस्या, खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारमा सडक विभागले गरेको बिलम्बले ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वेको कमजोर व्यवस्थापनका कारण पेनस्टक पाइप ढुवानी र जडानमा भएको ढिलाइले आयोजनाको कामको गति सुस्त भएको बताउनुभयो।

आयोजनाको सिभिल, मेकानिकल तथा इलेक्ट्रिक र प्रसारणलाइनको काम समय तालिकाअनुसारै भएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिनुभयो। प्रधानमन्त्रीले आयोजनाको विद्युत् गृह र बाँधस्थलको स्थलगत निरीक्षण गर्नुभएको हो। उहाँका साथमा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको सहभागिता थियो।

जानकारी तथा लेखहरु