फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतंककारी अहिलेको प्रमुख सुरक्षा चुनौती रहेको नेपालका प्रमको भनाइ

(GMT+08:00) 2018-04-13 15:26:49

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताउनु भएको छ। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक-हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउनुभयो। 'देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौती साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्व अहिलेका वास्तविक खतरा हुन्' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ।'

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताउनुभयो। 'यो प्रत्यक्ष हमलाभन्दा पनि खतरनाक हुन्छ', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच समन्य गर्नु जरुरी छ।'

त्यस्तै प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताउनु भएको छ। 'हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'तर, हामी सधैं विश्वमा उत्पन्न हुन सक्ने खतराबारेमा सतर्क हुनु जरुरी छ।'

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा गर्नुभयो। नेपाली सैनिकले विश्वका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएको योगदानलाई नेपाललाई शान्ति सैनिकको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले भन्नुभयो, 'नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ।'

जानकारी तथा लेखहरु