फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालनको तयारी

(GMT+08:00) 2018-04-13 15:34:18

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले धाबनमार्ग मर्मतका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणले १० करोड रकम विनियोजन गरेको छ। देशको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गर्ने उद्देश्यले ल्याउन धाबनमार्ग मर्मतका लागि यो रकम विनियोजन गरिएको प्राधिकरणले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुँदै आएको छ।

एक हप्ता अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारको अध्यक्षतामा बसेको प्राधिकरण बैठकले धावनमार्ग मर्मतका लागि बजेट स्वीकृत गरेको प्राधिकरणका प्रवक्तता वीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

'नियमित भइरहेको विमानस्थल निमार्ण कार्यलाई थप सहयोग पुर्‍याउने गरी धावनमार्ग मर्मतका लागि यो रकम विनियोजन भएको हो', प्रवक्ता श्रेष्ठले भन्नुभयो, 'विमानस्थलको अहिले रहेको संरचनाले दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउन सकिँदैन त्यसैले मर्मतका लागि बजेट विनियोजन भएको हो।' धावनमार्ग मर्मतको काम बर्खायाम सुरु हुनु भन्दा पहिलै सकाउने उहाँले बताउनुभयो।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा स्तरउन्नतिका लागि हाल तीनवटा योजना एकैसाथ अघि बढाइरहेको छ। तीन आयोजनाका लागि तीन फरक निर्माण कम्पनीले काम गरिरहेका छन्। अहिले धावनमार्ग विस्तार, नयाँ टर्मिनल भवन तथा ढल, फोहर व्यवस्थापन र खानेपानी सुविधा वृद्धि गर्ने काम भइरहेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहयोग एवं सरकारको १ करोड २० लाख डलर गरी ९ करोड २० लाख डलर लगानीमा सुधार परियोजना सञ्चालन भइरहेको छ।

एनसीबी ०१ अन्तर्गत विमानस्थलको धावनमार्ग विस्तार १४ नोभेम्बर २०१७ देखि १८ महिनामा काम सक्नेगरी चाइना साञ्जी कन्ष्ट्रक्शन एण्ड इञ्जिनियरिङले काम गरिरहेको छ। यसका लागि काम सम्पन्न गर्न १३ मे २०१९ को समयसीमा छ। चिनियाँ कम्पनीले ५६ करोड १८ लाख रुपैयाँमा सो ठेक्का पाएको छ। एनसीबी ०१ अन्तर्गतको काम राति १२ बजेदेखि बिहान ६ बजेसम्म गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ। दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा आउँदा धावनमार्ग विस्तारको काम भने ढिलो हुने प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ।

चिनियाँ कम्पनीले धावन मार्ग निर्माणको काम सकेपछि दक्षिणपट्टि ३०० मिटर धावनमार्ग थप हुनेछ। 'दक्षिणतर्फ धावन मार्ग विस्तार भएपछि ठूला जहाजहरु दुवै तर्फबाट उडान र अवतरण गर्न सहज हुनेछ', प्रवक्ता श्रेष्ठले भन्नुभयो। परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलले ठूला आकार (वाइड बडी) जहाज व्यवस्थापन गर्न सहज हुनेछ।

विमानस्थल विस्तारका लागि एनसीबी ०२ कोर्ड अन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तारको काम पनि भइरहेको छ। १३ जनवरीदेखि सुरु भएको यो काम ठेकेदार कम्पनी शर्मा–प्रेरा आशषिले २१ महिनाभित्र पूरा गर्नुपर्नेछ। अर्थात् १२ जनवरी २०१९ मा काम सम्पन्न गर्ने समय सीमा तोकिएको छ।

टर्मिनल विस्तारपछि प्रतिघण्टा २५ सय यात्रु आउन–जान सक्ने प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ। 'अहिलेको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता प्रतिघण्टा १३ सय मात्र छ। नयाँ टर्निमल निर्माणपछि त्यो झन्डै दोब्बर हुनेछ', उहाँले भन्नुभयो। नयाँ टर्मिनल निर्माणपछि वार्षिक करिब ६० लाख हवाई यात्रु व्यवस्थापन गर्नसक्ने आँकलन गरिएको छ।

१३ सय मात्र क्षमता भए पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिक आवरमा २५ सय भन्दा बढी यात्रु हुने गरेका छन्। यात्रु चापका कारण विमानस्थल अस्तव्यस्त हुनेगर्छ। अहिले सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय टर्मिनल २८ वर्ष पुरानो हो। यो सन् १९९० मा निर्माण गरिएको थियो।

प्राधिकरणले एनसीबी ०३ कोर्ड अन्तर्गत ढल, फोहर व्यवस्थापन र खानेपानी सुविधा वृद्धि गर्ने काम अघि बढाइरहेको छ। सो काम आशिष एण्ड प्रेराले नै गरिरहेको छ। 'यी कार्य सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ', प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले १०० दिनमा त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन्। त्यो योजना पूरा गर्न धावनमार्ग मर्मतका लागि बजेट विनियोजन भएको होे। विमानस्थलमा एयर ट्राफिक जाम कम गराउने, अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुलाई सुबिधा प्रधान गर्न सेन्ट्रल एसी सिस्टम जडान गर्ने पनि १०० दिनको योजनामा परेका छन्।

जानकारी तथा लेखहरु