फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पात्रो अनुसार आजदेखि नयाँ वर्ष विक्रम संवत् २०७५ साल शुरू

(GMT+08:00) 2018-04-14 14:36:06

आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन्। यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम संवत् चलेको बताउनुहुन्छ। "नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ"–उहाँले भन्नुभयो।

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको गोरखापत्र अनलाइनले लेखेको छ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले सुनाउनुभयो। विक्रम संवत्लाई पहिले 'कृत', 'मालव', 'मालव गर' आदि नामले पनि चिनिन्थ्यो।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ। "सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो"–उहाँले भन्नुभयो।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।

यस वर्षको संवत्सरको नाम 'बिरोधकृत' हो । संवत्सरको फल अनुसार यो वर्ष मध्यम रहेको समितिले जनाएको छ । यस वर्ष वर्षा समेत कम हुने समितिले स्वीकृत गरेका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ।

यस वर्ष जेठ महिनामा मल मास परेको छ। मलमासमा नित्य रुपमा गरिने पूजा पाठ गर्नुहुन्छ । नैमित्तिक अर्थात् अकस्मात् परी आउने बालक जन्मँदा नामकरण, मानिस मर्दा क्रिया कर्म आदि गर्न शास्त्रीय रुपमा अवरोध नहुने अध्यक्ष गौतमले सुनाउनुभयो। कुनै कामनाले गरिने काम्य कर्म भने मलमासमा गर्नुहुँदैन।

विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह परिषद् अनुसार यस वर्ष राजा सूर्य, प्रधानमन्त्री शनि र सेनापति मंगल रहेका छन्। राजा र प्रधानमन्त्रीको पदमा रहेका ग्रहबीच वैमनस्यता रहेकाले यसको प्रभाव राज्यमा पनि पर्छ। राजा सूर्य भएकाले ताप बढ्ने एवम् कम पानी पर्ने पात्रोमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु