फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन केरूङ नाका जोड्ने बाटोको काम सम्पन्न

(GMT+08:00) 2018-04-16 16:28:11

साढे २ वर्षअघि भारतीय नाकाबन्दीका बेला केही थान ट्यांकर चिनियाँ अनुदानको पेट्रोल बोकेर रसुवागढी हुँदै नेपाल छिरेका थिए। ३५ भन्दा बढी घुम्ती र ठाउँठाउँमा आउने पहिरो छिचोल्नुपर्ने सडकको विकल्पमा त्रिशुलीको किनारैकिनार बाटो बनाउने जिम्मा नेपाली सेनालाई दिइएकोमा अब भने उकालो र घुम्तीहरू पार नगरीकनै चीन पुग्न सकिने भएको छ।

काठमाडौंलाई चिनियाँ नाकासँग जोड्ने सबैभन्दा छोटो बाटोको ट्रयाक खुलेको छ। नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याप्रुवेशी सडकको ट्रयाक खोलेको हो। १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ। मैलुङ–स्याप्रुवेशी सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी सञ्जय केसीका अनुसार दुई हप्तापछि सो बाटो सडक विभागलाई हस्तान्तरण गरिनेछ। बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन मिल्नेगरी ट्रयाक तयार भएको छ।

सडक स्यापु्रवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ। मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ। सडक विभागले सेनाले बाटो जिम्मा दिएको दिनदेखि नै जति सक्यो छिटो सडकमा गाडी कुदाउने गरी काम भइरहेको जनाएको छ। गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याप्रुवेशी–रसुवागढी सडक आयोजनाका प्रमुख सुवोध देवकोटाले सेनाले ट्रयाक खोलेको बाटोको सर्भे र डिपिआरको काम भइरहेको बताउनुभयो।

देवकोटाले २ वर्षभित्र मैलुङ–स्याप्रुवेशी सडक कालोपत्रे गरीसक्ने विभागको योजना रहेको सुनाउनुभयो। विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ। गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ।

पासाङल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे –स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ।

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो चीन सरकारले दुई लेन बनाएर कालोपत्रे गर्ने सम्झौता भइसकेको छ। यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडकमात्र होइन नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हो। रसुवागढी–गल्छी–मुग्लिन–भरतपुर हुँदै यो बाटोको चितवन ठोरीमा भारतीय नाकासँग जोडिन्छ।

गत भदौमा नेपाल र चीनले रसुवागढी–केरूङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन्। रसुवागढी–केरूङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो। यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सक्थे। अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण भएसँगै रसुवागढी–केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन्।

सेतोपाटी अनलाइनका अनुसार चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक लगायत पूर्वाधार तयार पारिसकेको भए पनि नेपाली पक्षले गर्नुपर्ने धेरै काम बाँकी छन्।

जानकारी तथा लेखहरु