फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यकः उपराष्ट्रपति पुन

(GMT+08:00) 2018-05-04 15:17:10

उपराष्ट्रपति नन्द बहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भएको छ। २०७५ लाई आर्थिक समृद्धिको वर्ष भएको बताउँदै उहाँले स्थायी सरकार, लोडसेडिङ्ग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको धारणा राख्नुभएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा 'व्यावसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा'प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय पुगेको प्रतिनिधिमण्डलसँग उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, ऊर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विशेष महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ।

नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक सङ्क्रमणकालको अन्त भएसँगै अबको गन्तव्य आर्थिक समृद्धि हुनुपर्ने बताए। स्थायी सरकारको निर्माणसँगै लगानीको वातावरण बनेको चर्चा गर्दै उनले अब लगानी भित्र्याउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए। उनले व्यापार घाटा न्यूनिकरणका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाएर मात्रै सम्भव हुने बताउँदै यसका लागि निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा चेम्बरका विर्तमान अध्यक्ष सुरेश कुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु महेन्द्र मान श्रेष्ठ, दीपक कुमार मलहोत्रा र नरेश श्रेष्ठलगायतका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए।

जानकारी तथा लेखहरु