फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गरिने

(GMT+08:00) 2018-05-05 14:35:59

नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत खाना पकाउने ज्ञान प्रदान गर्ने कुकुबुक एवं भिडियो सार्वजनिक हुने भएको छ। आउँदो सोमबार एक कार्यक्रमबीच विश्वमा कुनै पनि स्थानबाट इन्टरनेटमार्फत उपलब्ध हुने गरी यस्तो कुकबुक उद्घाटन हुन लागेको होटल संघ नेपालले जनाएको कारोबारदैनिकले लेखेको छ।

देशभरबाट संकलित झन्डै २ सय प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरूको टोलीले विस्तृत अध्ययन गरिसेकका छन्। यसलाई विश्वव्यापी रूपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रबर्द्धन गराउन कुकबुक तथा भिडियो तयार परिएको हो। यस अभियानका संयोजक तथा होटल संघ नेपालका महासचिव विनायक शाहका अनुसार छनोटमा परेका नेपाली रैथाने खानाहरूको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ।

वरिष्ठ पर्यटनविद् कर्ण शाक्यको अगुवाइमा नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल, सेफ एसोसिएसन अफ नेपाल र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालको टोलीले सेप्टेम्बर २०१७ देखि अनवरत रूपमा रैथाने खानाको विकास र प्रबर्द्धनमा धेरै कार्यक्रमहरू आयोजना गरेको छ।

विश्व पर्यटन बजारमा पकवान पर्यटकको विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रीतिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान शुरु गरिएको अभियन्ता शाक्यले बताए।

आउँदो सोमबार आयोजना हुने नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियानको कार्यक्रमलाई सामाजिक सञ्जाल मार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।

जानकारी तथा लेखहरु