फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चियाको न्यूनतम मूल्य निर्धारण

(GMT+08:00) 2018-05-08 18:11:36

        चियाको स्थायी मूल्य निर्धारण नहुँदा कृषक मारमा परेको गुनासो बढिरहँदा सूर्योदय नगरपालिकाले न्यूनतम मूल्य तोकेको छ। सिजनभर प्रतिकिलो ४० रुपैयाँमाथि हुनुपर्ने गरी नगरपालिकाले आइतबार मूल्य निर्धारण गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

         अर्थोडक्स चिया उत्पादनमा अग्रणी यो नगरपालिका क्षेत्रभरका उद्योगीले यो मापदण्ड पूरा गर्नुपर्नेछ। पहिलोपटक ल्याइएको यो कार्यक्रमलाई चिया तथा कफी विकास बोर्डले पनि सघाएको छ।

         चिया टिपाइको पहिलो सिजनमा मूल्य उच्च भए पनि 'रेनी सिजन' असार साउनमा कारखानाहरूले मूल्य घटाएर २० रुपैयाँसम्म पुर्‍याउने गरेका थिए। कारखानाबीचको तीव्र प्रतिस्पर्धाले पहिलो टिपाइमा चियाको मूल्य प्रतिकिलो १ सय रुपैयाँसम्म पुग्यो। तर, अहिले प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्ममा हरियो चियापत्ती बिक्री भइरहेको छ।

         पहिलो टिपाइको चिया गुणस्तरको हिसाबले उच्च मानिन्छ। कम तर गुणस्तरीय उत्पादन हुने यो सिजनमा उच्च मूल्य दिएका कारखानाले क्रमश: मूल्य घटाउँदै लैजाने गरेका छन्। 'न्यूनतम मूल्य निर्धारण भएपछि कृषकले उत्पादन गर्न लागेको खर्च र लगानी उठाऊन् भन्ने उद्देश्य राखिएको छ,' नगरप्रमुख रणबहादुर राईले भने, 'यसलाई कार्यान्वयन गर्न नियमित अनुगमन र कारबाहीको समेत व्यवस्था गरिएको छ।'नगरपालिकाले जेठको पहिलो साता अचरसंहिता लागू गर्दै यो मापदण्ड पूरा गर्न थप जिम्मेवार बनाउने जनाएको छ। मूल्य निर्धारणसँगै हरियो चियापत्ती टिपाइको गुणस्तर सुधारलाई पनि अत्यावश्यक सर्त बनाइएको छ। कृषक र उद्यमीबीच तालमेल नमिल्दा कृषकले पनि जथाभावी पत्ती टिपेर कारखानासम्म पुर्‍याउने गरेका थिए।

         मूल्य निर्धारणको जानकारी गराउन नगरपालिकाकाले आयोजना गरेको कार्यक्रममा चिया तथा कफी विकास बोर्ड, उद्योगी र कृषकको समेत प्रतिनिधित्व रहेको थियो। 'चियाको उत्पादनलाई मात्र हेरेर हुँदैन यसको बजारलाई पनि ध्यान दिइनुपर्‍यो,' पञ्चकन्यास्थित इलाम टी प्रोडयुसर्सका मेनेजर ओम काफ्लेले भन्नुभयो, 'जुन मौसममा जस्तो चियापत्ती बन्छ बिक्री गरेको मूल्यअनुसार कृषकलाई दिने हो।'

         चियाको राजधानी बनाउने र कृषकको आयस्तर सुधार गर्ने उद्देश्यले भएको यो कदम उचित भएको टी बोर्डको ठम्याइ छ। 'गुणस्तरअनुसार मूल्य पाउनुपर्छ भन्ने मान्यतामा सघाएका हौं,' बोर्डका क्षेत्रीय प्रबन्धक इन्द्र अधिकारीले भन्नुभयो, 'मापदण्ड कार्यान्वयन हुँदा गुणस्तर सुधार हुनेसँगै कृषकले उचित मूल्य पाउनेछन्।

         यहाँ उत्पादन हुने करिब ५० लाख किलो अर्थोडक्स चियाको ठूलो बजार भारत हो। कुल उत्पादनको ८० प्रतिशत चिया भारत जान्छ भने १० प्रतिशत तेस्रो मुलुक र बाँकी आन्तरिक खपत छ।

जानकारी तथा लेखहरु