फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा हुँदै

(GMT+08:00) 2018-05-10 16:29:26

         सात नम्बर प्रदेशको पर्यटन प्रवद्र्धन र सांस्कृतिक जागरणका लागि कैलालीको गोदावरी धामदेखि खप्तडसम्म २८ गतेदेखि 'अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा'हुने भएको सेतोपाटी अनलाइनले लेखेको छ।

         नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा पहिलोपटक पदयात्रा हुन लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो। प्रदेश ७ मा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले खप्तड पदयात्रा सुरु हुन लागेको हो।

      'वैशाख २८ गते गोदावरी धाममा सम्माननीय मुख्यमन्त्रीबाट पदयात्राको उद्घाटन हुने कार्यक्रम रहेको छ', प्रतिष्ठानका संयोजक पदमराज जोशीले भन्नुभयो, 'पदयात्रामा भारत र नेपालका पर्यटन प्रवर्धनमा लागेका महत्वपूर्ण व्यक्तिसँगै सञ्चारकर्मी रहनेछन्।'

          नेपाल र भारतका झण्डै दुई सय पदयात्री यात्रामा सहभागी हुने उहाँले जानकारी दिनुभयो। पर्यटनका विषयमा लेख्ने सञ्चारकर्मी, लेखक, साहित्यकारसमेत उक्त यात्रामा सहभागी हुने उहाँले बताउनुभयो।

          प्रथम अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पद यात्रामा प्रदेशका मन्त्री तथा सांसदहरूसमेत सहभागी हुने आयोजक संस्थाले जानकारी दिएको छ। आयोजकका अनुसार २९ गते खप्तडका विभिन्न प्रवेशद्धारबाट र्‍याली गरिने छ भने जेठ १ गते औंशीका दिन खप्तड त्रिवेणी महास्नान खेचरनाथ दर्शन अनुष्ठानको शुभारम्भ हुने छ।

          त्यस्तै प्रत्येक दिन योग शिविर, अन्तर्राष्ट्रिय काव्य सम्मेलनको आयोजना र जेठ २ गते समापन गरिने छ भने १० गते गंगादशहराको स्नानसहित अनुष्ठानको पूर्णाहुती गरिने आयोजकले जनाएको छ।

          प्रदेश ७ मा भएका कुरीति मात्र बाहिर आए तर यो क्षेत्रको विकासमा सम्भावना बोकेका पर्यटकीयस्थल प्रचारमा आउन नसकेका कारण पदयात्रा आयोजना गरिएको प्रतिष्ठानका संयोजक जोशीले बताउनुभयो।

          खप्तड पद यात्राका क्रममा कैलालीको गोदावरी, भगवान्का दस अवतारमध्ये परशुराम अवतार भएको डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको प्रसिद्ध आली ताल र वेतकोट ताल, नेपाल एकीकरणमा पश्चिम विजयका लागि स्थापना गरिएको अमरगढी किल्ला, डडेल्धुराको प्रसिद्ध घटाल थान र उग्रतारा मन्दिर जस्ता पर्यटकीय क्षेत्रको अवलोकनको कार्यक्रम रहेको जानकारी दिइएको छ।

          यसैगरी डोटी र डडेल्धुराको सिमानामा पर्ने सेती नदी किनारामा रहेको प्रसिद्ध गंगास्नान क्षेत्र, डोटीको प्रसिद्ध शालमुनि भागेश्वर, डोटीकै दिपायल कोट र प्रसिद्ध शैलेश्वरी मन्दिर जस्ता धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रको अवलोकन गर्दै पदयात्रा खप्तड जाने आयोजकले जानकारी दिएका छन्।

जानकारी तथा लेखहरु