फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'प्रदुषणमुक्त' लुम्बिनी बनाउन विद्युतीय सवारी साधन चलाइने

(GMT+08:00) 2018-05-10 16:30:00

         बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई प्रदुषणमुक्त बनाउन प्रदुषणरहित सवारी साधन सञ्चालनको प्रक्रिया थालिएको छ। निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्धको जीवनीसँग जोडिएका क्षेत्रहरू कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानमा प्रदुषणरहित सवारी साधन सञ्चालनको योजना ल्याइएको सेतोपाटी अनलाइनले लेखेको छ।

     'लुम्बिनी क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट' नाम दिइएको उक्त योजना अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो। 'भैरहवा हुँदै लुम्बिनी क्षेत्रमा प्रदुषणरहित विद्युतीय सवारी साधन सञ्चालन गर्ने लक्ष्य अनुरुप काम अघि बढिरहेकोले आगामी साउनभित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं,' उहाँले भन्नुभयो।

          स्थानीय बासिन्दा र पर्यटकहरूका लागि लक्षित गरी सञ्चालनमा ल्याउन लागेका यी सवारी साधन सबै सौर्य ऊर्जा मार्फत् चल्ने दाबी गरिएको छ। पहिलो चरणमा भैरहवादेखि लुम्बिनीसम्म ५ वटा विद्युतीय बस र ११ वटा विद्युतीय भ्यानहरू सञ्चालन हुनेछन्। यो योजनाका लागि एशियाली विकास बैंकको अगुवाइमा एशियन क्लिन इनर्जी फन्ड एसिइएफले करिब १२ लाख अमेरिकी डलर अनुदान दिएको भट्टराईले बताउनुभयो।

          सौर्य ऊर्जाबाट नेपालमै पहिलो पटक सञ्चालन हुने सार्वजनिक यातायातको योजना एडीबीको सक्रियतामा अनुदानमा आउन लागेको हो।

विद्युतीय सवारी साधन चार्जको लागि लुम्बिनीमा ४ सय किलोवाट विद्युत क्षमताको सोलार प्लाण्ट जडान गरिने र त्यसबाट व्याट्री चार्ज गरिने छ। व्याट्री चार्जिङको लागि लुम्बिनी र गौतमबुद्ध विमानस्थलमा चार्जिङ स्टेशन राखिने छ। सोलार प्लाण्टसँगै एडीबीले व्याट्री चार्जर मेशिनको लागि १३ लाख ९० हजार अमेरिकी डलर थप अनुदान प्रदान गरेको छ। परियोजना अनुसार सबै सवारी साधन वातावरण प्रदुषण नगर्ने प्रकृयामा चलाउनु पर्ने प्रावधान छ।

          लुम्बिनी क्षेत्रमा काम गर्दै आएको एडीबीको दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजना मार्फत् प्रदुषणरहित वातावरण अनुकूल सवारी साधनका लागि सहयोग रकम उपलब्ध गराएको हो। लुम्बिनीमा प्रदुषण बढ्दै गएको र नियन्त्रण नभए यहाँको पुरातत्व संकटमा पर्ने विज्ञहरूले चेतावनी दिइरहेका बेला सवारी साधनका कारण हुने प्रदुषण रोकिने विश्वास गरिएको छ। सन् २०१३ मा युनोस्कोको एक टोलीले अशोक स्तम्भसहितका पुरातात्विक वस्तुहरूको अध्ययन गरी त्यसमा धूलोको कण टाँसिएर जिप्सन, डोलोमाइट, म्याग्नेसाइट नामक केमिकल भेटिएको प्रतिवेदन निकालेका थिए। जसले स्तम्भ खियाउँदै लगेको भेटिएको थियो।

           उच्च प्रदुषण मानिएको काठमाडौंमाभन्दा पनि लुम्बिनीमा मसिनो धूलोको कण धेरै भेटिएपछि प्रदुषण नियन्त्रण गर्न वातावरणविद्हरूले आग्रह गर्दै आएका थिए। लुम्बिनीको प्रदुषण बढाउन लुम्बिनी करिडोरमा रहेका उद्योगहरूसँगै खेती भित्र्याएपछि खेतमा लगाइने आगो, खेतीमा प्रयोग गरिने रासायनिक तत्व तथा ट्याक्टरको प्रयोग र ठूला मालवाहक यातायातका साधनहरू मुख्य कारक रहेका जानकारहरू बताउँछन्।

जानकारी तथा लेखहरु