फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास

(GMT+08:00) 2018-05-11 15:12:07

        बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रबार काठमाडौंबाटै स्विच थिचेर शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

        त्यसका लागि निर्माणस्थल मकालु गाउँपालिकाको नुममा पर्ने फयाक्सिन्दामा सबै तयारी पूरा भइसकेको जिल्ला प्रशासन कार्यालयले जनायो। फयाक्सिन्दालाई भिडियोमार्फत काठमाडौंसँग जोडिनेछ। यसको सफल परीक्षण भइसकेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।।

          उहाँका अनुसार यहाँबाट भिडियो काठमाडौं लिंक गरिनेछ र त्यहाँको भिडियो फयाक्सिन्दामा देखाइनेछ। दुवै प्रधानमन्त्रीले सम्बोधन गरेको र स्विच थिचेर शिलान्यास गरेको फयाक्सिन्दामा प्रत्यक्ष देखाइनेछ। त्यसका लागि नेपाल टेलिकमले अप्टिकल फाइबर र रेडियो लिंकसहितको सामग्री पुर्‍याइसकेको टेलिकम धनकुटाका वरिष्ठ इन्जिनियर राकेश चौधरीले जनाउनुभयो।

          शिलान्यासपछि आयोजनाले थप गति लिने आशा स्थानीयले गरेका छन्। नुमका दुर्गा पराजुली उक्त आयोजनाले १ नम्बर प्रदेशको मुहार फेर्ने बताउनुहुन्छ। मुआब्जा वितरणपछि पनि निकै ढिलो शिलान्यास भएको उहाँले बताउनुभयो। 'हामी खुसी र उत्साहित छौं,' उहाँले भन्नुभयो, 'बल्ल आयोजनाले गति लिने भयो, हाम्रो भाग्य र भविष्य फेरिने भयो।'

          आयोजनाको शिलान्यास संयुक्त रूपमा हुने भएपछि आयोजना अघि बढ्नेमा स्थानीय आशावादी बनेको उहाँको भनाइ छ। भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रो परियोजनाका लागि जग्गा अधिग्रहणको काम सकिएको प्रशासनले जनाएको छ। प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम शिलान्यासपछि तोकिएको समयमा काम सम्पन्न हुने गरी आयोजना निर्माण हुनेछ। उहाँले आयोजनामा स्थानीयलाई प्राथमिकता दिनुपर्ने पनि बताउनुभयो। 'अब काम द्रुत गतिमा हुनेछ,' उहाँले भन्नुभयो, 'पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले पनि सहज भएको छ।' पाच वर्षमा जलविद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। आयोजनास्थलमा भौतिक संरचना निर्माण थाल्नुअघिका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ।

          संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छयाङुटीबाट दिदिङको पुखुवा र डयामसाइटबाट पावर हाउस जाने लिंक रोड निर्माण भइरहेको छ। पाँचवटा पक्की पुलमध्ये २ वटा निर्माण सम्पन्न भएका छन्। आयोजनाको शिलान्याससँगै जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास स्थानीयमा छ। यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउनेछन्।

         आयोजना निर्माणका क्रममा संखुवासभा जिल्लाका ६ गाउँ प्रभावित हुनेछन्। भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्ने यो आयोजना भारतीय लगानीमा निर्माणका क्रममा रहेको देशकै ठूलो आयोजनामध्येको एक हो। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ।

        आयोजनाले नुम, पावाखोला, दिदिङ, पाथीभरा, मकालु र याफुका २ सय ६९ परिवारलाई १ अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ। अनुमानित १ खर्व १६ अर्ब रुपैयाँमा निर्माण हुने आयोजनाले गत २०७३ साल चैस महिनाबाट प्रारम्भिक निर्माण कार्य सुरु गरेको हो। आयोजनाबाट २५ वर्षमा नेपाललाई ३ खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुनेछ। त्यस्तै १ खर्ब १६ अर्ब रुपैयाँ रोयल्टी, १ खर्ब ६६ अर्बको नि:शुल्क विद्युत् तथा ८० अर्ब आयकर नेपालले पाउने दाबी गरिएको छ।

जानकारी तथा लेखहरु