फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनकपुर-अयोध्या सिधा बस सेवा सुरु

(GMT+08:00) 2018-05-12 14:53:29

         नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या सिधा बस सेवाको संयुक्त रूपमा शुभारम्भ गर्नु भएको छ। जनकपुरमा हिजो शुक्रबार आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले हातमा हरियो झण्डा लिएर बस सेवा सुरू गर्नु भएको कारोबार अनलाइनले लेखेको छ।

          यसअघि प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा छुट्टाछुट्टै सम्बोधन पनि गर्नु भएको थियो। उद्घाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार बस प्रस्थान गरेको छ। बस सञ्चालनको शुभारम्भ गरेसँगै रामायण सर्किट अन्तर्गत जनकपुर-अयोध्या जोडिएका छन्।

          सन् २०१४ मा मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवर्द्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप रामायण सर्किट परियोजना सुरु भएको हो। यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन्। नेपालतर्फ जनकपुरधाम लगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य परियोजनाले राखेको छ।

          भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो।

          जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रमपछि बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धमा ५ टि'को महत्व औल्याउनु भएको छ। ट्रेडिसन (परम्परा), ट्रेड (व्यापार), टुरिजम (पर्यटन), टेक्नोलोजी (प्रविधि) र ट्रान्सपोर्ट (यातायात)को क्षेत्रमा दुई देशबीचको सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै उहाँले दुई देशबीचको 'कनेक्टिभिटी'मा जोड दिनुभयो। साथै, मोदीले जनकपुर र आसपासको विकासका लागि भारत सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। जनकपुरको बारहबिघामा नागरिक अभिनन्दन ग्रहणपछिको सम्बोधनका क्रममा मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक सय करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको हो।

जानकारी तथा लेखहरु