फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

९ महिनामा नेपालको व्यापार घाटा ८ खर्ब नाघ्यो

(GMT+08:00) 2018-05-12 14:54:40

          न्यून उत्पादन र बढ्दो मागका कारण नेपालको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ। यस अवधिमा ८ खर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ भने ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको कान्तिपुर अनलाइनले लेखेको छ।

           व्यापार घाटा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। तथ्यांकअनुसार पेट्रोलियम पदार्थ, स्टिल तथा आइरन, मेसिनेरी, यातायात र पार्टपुर्जा, खाद्यान्न लगायतको आयात उच्च छ। आतातित वस्तुमध्ये पहिलो नम्बरमा इन्धन आयात छ। ९ महिनाको अवधिमा १ खर्ब १७ अर्ब २९ करोड रुपैयाँको आयात भएको छ।

           अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.२ प्रतिशतले बढी हो। २०७३/७४ को पहिलो ९ महिनामा ८७ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो। ऊर्जा अभाव, कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनु र उच्च विप्रेषणले व्यापार घाटा बढेको जानकारहरू बताउँछन्। केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालका अनुसार सवारी साधनसँगै इन्धनको खपत उद्योगमा पनि बढेको छ। सर्वसाधारणको जीवनस्तरमा आएको परिवर्तनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेकाले आयातमा ह्वात्तै बढेको उहाँले बताउनुभयो। 'केही वर्षयता सवारीको संख्या बढ्दै गएको छ। उद्योगमा पनि खपत बढेको छ,' उनले भने, 'जसले गर्दा आयात बढ्दै गएको हो।'

           आयल निगमका अनुसार सीमा क्षेत्रमा भएको मूल्य अन्तरले पनि खपत बढ्दै गएको हो। इन्धनको माग बर्सेनि करिब २० प्रतिशतले बढ्दै गएको निगमले जनाएको छ। निगमका अनुसार रक्सौलको खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोल १ सय २८ रुपैयाँ छ। वीरगन्जमा १ सय ६ रुपैयाँ ५० पैसा छ। रक्सौलमा प्रतिलिटर डिजेल १ सय १३.११ रुपैयाँ पर्छ। वीरगन्जमा ८८.५० रुपैयाँ पर्छ। 'प्रतिलिटर पेट्रोलमा २१.९२ रुपैयाँ र डिजेलमा २४.६१ रुपैयाँ सस्तो पर्छ,' निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, 'इन्धनको मूल्यमा अत्यधिक अन्तर हुँदा तराईमा माग धेरै छ।' दोस्रोमा आइरन तथा स्टिल सामग्रीको आयात भएको छ।

          ९ महिनाको अवधिमा ९७ अर्ब २१ करोडको आइरन स्टिल आयात भएको छ। अघिल्लो वर्षको भन्दा यो २६.४ प्रतिशतले बढी हो। यस अवधिमा ९४ अर्ब १८ करोडको मेसिनेरी, ६२ अर्ब ३४ करोड रुपैयाँको यातायात तथा पार्टपुर्जा आयात भएको केन्द्रको तथ्यांकमा छ। यस्तै ९ महिनाको अवधिमा ३२ अर्ब ६६ करोड रुपैयाँको अन्नबाली आयात भएको छ। कृषि क्षेत्रमा काम गर्ने किसान नहुँदा अधिकांश जग्गा बाँझो रहेको केन्द्रले जनाएको छ। जानकारहरूका अनुसार पूर्वाधार विकाससँगै किसानलाई जमिनमा उत्पादन गर्नुभन्दा बेचेर फाइदा भएको छ। जसले गर्दा किसानहरू प्लटिङतर्फ आकर्षित भएको उनीहरूको भनाइ छ। कृषि मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार अन्नबाली उत्पादनको क्षेत्रफल ८९ हजार हेक्टरले घट्ने जनाएको छ।

           खेतीयोग्य जमिन प्लटिङसँगै खेतीबाली रूपान्तरण भएपछि अन्नबालीको क्षेत्रफल घट्ने अनुमान गरेको छ। जमिन प्लटिङ भएपछि खाद्यान्नको आयात थप बढ्ने अनुमान केन्द्रको छ। 'कृषि वस्तुको आयातको अन्तर पनि बर्सेनि बढेको छ। अघिल्लो वर्षको ९ महिनमा १८.८ अर्बको आयात भएको चामल २१.८ अर्ब पुगेको छ। ७.७ अर्ब आयात भएको मकै बढेर ८.२ अर्ब रुपैयाँको आयात भएको छ,' केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भन्नुभयो, 'यस सन्दर्भमा कृषि मन्त्रालयको ध्यानाकर्षण गराएका छौं।'

          यस अवधिमा सबैभन्दा धागो निर्यात भएको छ। तथ्यांकअनुसार ५ अर्ब ८८ करोड रुपैयाँको निर्यात भएको जनाएको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनमा २२.५ प्रतिशतले बढी हो। धागो मुख्यत: टर्की निर्यात हुन्छ। महिनाअघि नेपाली उद्योगहरूको क्षमताको तुलनामा अस्वाभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको थियो। त्यसलगत्तै वाणिज्य सहसचिव रवि शंकर सैंजुसहितको टोली टर्की गएको थियो।

          टर्कीका सरकारी अधिकारीबीच भएको छलफलमा सुविधा नहटाउने संकेत दिएपछि निर्यात पुन: बढेको हो। दोस्रोमा कार्पेट निर्यात भएको छ। तथ्यांकअनुसार ५ अर्ब ९ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ। तेस्रोमा क्रमश: तयारी पोसाक ४ अर्ब ३८ करोड, आइरन तथा स्टिल ४ अर्ब ८ करोड, अलैंची ३ अर्ब ८७ करोड रुपैयाँ निर्यात भएको जनाएको छ। निर्यात हुने पहिलो मुलुक भारत नै हो। यस अवधिमा भारतमा ३४ अर्ब १७ करोड रुपैयाँ निर्यात भएको छ। दोस्रोमा अमेरिकामा ६ अर्ब ४६ करोड निर्यात भएको जनाएको छ।

जानकारी तथा लेखहरु