फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता

(GMT+08:00) 2018-05-13 15:31:40

         भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण पूरा गरेर शनिबार साँझ स्वदेश फर्कनु भएको छ। उहाँले शनिबार एक्लाएक्लै र सामूहिक रूपमा नेपालका प्रमुख दलका नेताहरूसँग भेटवार्ता गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एक्लाएक्लै भेट्नु भयो भने प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा अध्यक्षमण्डलका नेताहरूसँग सामूहिक भेटवार्ता गर्नुभयो।

         माओवादी अध्यक्ष दाहालले मोदीलाई सीमा समस्या र त्यहाँ हुने डुबान समस्या समाधान गर्न आग्रह गर्नुभयो। जवाफमा मोदीले तत्काल बुझेर काम अघि बढाउने आश्वासन दिनु भएको छ। भारततर्फ निर्माण भएको संरचनाले डुबान समस्या हुने गरेको र सुरक्षाकर्मीबाट पनि बेलाबेला समस्याको मारमा नेपाली पर्ने गरेका छन्। संविधान कार्यान्वयनसँगै नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले भारतबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेको उहाँले मोदीसमक्ष राख्नुभयो। 'सीमा समस्या, डुबान, विराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनेलगायत आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भयो,' भेटपछि दाहालले भन्नुभयो। माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठले विराटनगर कार्यालय र डुबान समस्याबारे पटक–पटक भारतको ध्यानाकर्षण गराउँदै आउनु भएको छ।

         निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकाप्रति मोदीले दाहालको प्रशंसा गर्नु भएको थियो। संविधान कार्यान्वयनको मुख्य पाटो मानिएको निर्वाचनको सफलताले नेपाल अब समृद्धिमा जानेमा दुई मत नभएको धारणा मोदीको थियो। मोदीले दाहालसँग एक्लै भेट्नु भएको थियो।

        मोदीले राजपा अध्यक्षमण्डलका नेताहरूसँग पनि सामूहिक भेटवार्ता गर्नुभयो। नेताहरूले संविधान संशोधनको आसमा रहेर आफूहरूले वर्तमान सरकारलाई समर्थन गरेको जानकारी मोदीलाई दिएका थिए। संविधान संशोधनलगायत मुद्दामा ओली सरकार सकारात्मक रहेको विश्वास उनीहरूले व्यक्त गरेका थिए। अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई मोदीले सबै मधेसी दल मिलेर अघि बढ्न भारतीय प्रधानमन्त्री मोदीले सुझाएको सहभागी एक नेताले बताए। नेपाल लोकतान्त्रिक प्रक्रियामा अघि बढेकाले लोकतन्त्रको मूल्य मान्यतामा रहेर समस्याको समाधान गर्न सुझाव दिँदै मोदीले भन्नुभएको थियो, 'लोकतन्त्रमा आफ्नै प्रकारको विधि र प्रक्रिया हुन्छ। यसमा तलमाथि गर्न मिल्दैन।' नेताहरूले जनकपुर भएर नेपालको भ्रमण गरिदिएकामा मोदीलाई आभार व्यक्त गरेको सहभागीले बताए।

         मोदीलाई भेट्न ठाकुरसहित शरतसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र महेन्द्र राय यादव होटल पुग्नु भएको थियो। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री मोदीसँग भेट गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नुभएको थियो। दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको यादवले बताउनुभयो। 'पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो,' उहाँले भन्नुभयो। 'पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग मेरो कुराकानी भयो,' अध्यक्ष यादवले भन्नुभयो। मोदीलाई एक्लै भेटेका अध्यक्ष यादवले नेपालको समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहने स्पष्ट पार्नु भएको थियो।

जानकारी तथा लेखहरु