फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइपिएल क्रिकेटको डेब्युमै नेपाली खेलाडी सन्दीपले विकेट लिए

(GMT+08:00) 2018-05-13 15:33:25

          विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन्। तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा 'डेब्यु' गरे।

         पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो। पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका कान्तिपुर अनलाइनले लेखेको छ।

          उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो 'डेब्यु' लाई सनसनी बनाए। सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे। अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे। त्यसमा सन्दीपले ८ रनमात्र खर्चे। १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए। उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे। सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे।

          सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन्। यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए। प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए।

          दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १७ वर्षे सन्दीपले अवसर पाएका थिएनन्। दिल्ली ३ खेलमात्र जिती अंक तालिकाको पुछारमा छ। टोली प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। दिल्लीले अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र इंग्लिस खेलाडी लियम प्लुन्केटलाई विश्राम दिँदै सन्दीप र दक्षिण अफ्रिकी खेलाडी जुनियर डालालाई मौका दिएको हो। डालाको पनि आईपीएलमा पहिलो खेल हो। सन्दीप र डालासँगै अभिषेक शर्माले पनि दिल्लीबाट पहिलो खेल खेलेका हुन्। नोभेम्बरमा बेङ्लोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो।

         तर सन्दीप 'डग आउट' मै सीमित हुँदै आएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईदिने नेपाल भ्रमणमा शनिबार सन्दीपको प्रसंग जोड्दै खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध अघि बढेको बताएका थिए।

          सन्दीप क्यारेबियन प्रिमियर लिगमा पनि वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन्। सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो।

           सन्दीपले वर्ष २०७४ मा ८४ अन्तर्राष्ट्रिय विकेट लिए। उनले यु–१९ विश्वकप छनोट एसिया क्षेत्रमा २४ विकेट लिएका थिए। एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि राष्ट्रलाई विश्वकपमा पुर्‍याउन सकेनन्। नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बनाउने क्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए।

जानकारी तथा लेखहरु