फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पिप्रहर होमस्टे पर्यटकीय गन्तव्य बन्दै

(GMT+08:00) 2018-05-16 15:55:33

नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ। स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन्। चालू आर्थिक वर्षमा २ हजार ५ सय ६६ जना पर्यटक पिप्रहर होमस्टे पुगेका छन्। जसमध्ये २ हजार ४ सय ५४ जना नेपाली पर्यटक छन्। यस्तै ९० जना सार्क राष्ट्रका पर्यटक छन् भने २२ जना अन्य मुलुकका पर्यटक छन्। गत आर्थिक वर्षमा २ हजार ७ सय १५ जना पर्यटक पिप्रहर होमस्टेमा बसेको कारोबार दैनिकले लेखेको छ।

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार उपभोक्ता समिति र तत्कालिन रजहर गाविसको पहलमा ०७२ फागुन १९ गतेदेखि पिप्रहरमा २२ वटा होमस्टे सञ्चालनमा आएका हुन्। पिप्रहर सामुदायिक होमस्टे अध्यक्ष झनकबहादुर महतोका अनुसार साउन बाहेक सबै महिनामा प्रायः बुकिङ हुन्छन्। होमस्टेको प्रचार–प्रसार हुन नसक्दा विदेशी पर्यटक कम आउने गरेका छन्।

उनका अनुसार होमस्टे सञ्चालनबाट यो वर्षमात्रै २३ लाख ९४ हजार ७ सय ६ रुपैयाँ आम्दानी भएको छ। यो आम्दानी पर्यटकले तिर्ने बसाइ शुल्क, साधारण खानपिन र टुर प्याकेज सहितको रकम हो। यस्तै गत आर्थिक वर्षमा १७ लाख ८४ हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो।

नेपाल पर्यटन बोर्ड, लुम्बिनी क्षेत्र पर्यटन विकास समिति, तराई भूपरिधि (ताल), साविक रजहर गाविस, सिसुवार मध्वयर्ती क्षेत्रले भवन निर्माणमा सघाएका थिए।

होमस्टे आउने पर्यटक निकुञ्जमा हात्ती सफारी, जीप सफारी, चौधरी ग्रुपको शाश्वतधाम, देवचुली पदयात्रा, रजहरमा रहेको प्राकृतिक चिकित्सालय घुम्ने गर्छन्। होमस्टेमा चहलपहल बढ्न थालेपछि स्थानीय सडकको स्तरोन्नति गर्ने, गाउँ सफाइ अभियान लगायतका काम हुन थालेका छन्। पिप्रहर होमस्टे पुग्न पूर्व–पश्चिम राजमार्गबाट नवलपुरको टाइकोट चोक वा रजहरफर्म चोकबाट करिब २ किमि दक्षिणर्फ लाग्नुपर्छ।

जानकारी तथा लेखहरु