फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

(GMT+08:00) 2018-05-17 15:31:03

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। हाल सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

बजेट भाषण (जेठ १५) पछि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने र भ्रमण जुन महिनामै गर्ने विषयमा दुवै देशबीच कूटनीतिक तहमा छलफल चलिरहेको पनि प्रधानमन्त्री निकट एमाले नेता राजन भट्टराईले बताएको नागरिकन्यूजले लेखेको छ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणक्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्रसम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमतासम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत वैशाख ३ देखि ७ गतेसम्म चीन भ्रमण गरेर फर्केपछि प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सम्झौता तथा समझदारीपत्रको तयारी अघि बढाइएको हो। परराष्ट्रमन्त्रीले चिनियाँ समकक्षीसँग गरेको छलफलका आधारमा हस्ताक्षर गरिने सम्झौता तथा समझदारीपत्र तयार गरिएको स्रोतले बतायो।

प्रधानमन्त्रीको चीन भ्रमणको आवश्यक तयारीका लागि नै एक महिनाअघि परराष्ट्रमन्त्री ज्ञवाली चीन गएका थिए। चीन भ्रमणका बेला उनले चिनियाँ पक्षलाई नेपाल र चीनबीच आउँदा दिनमा यातायात तथा कनेक्टिभिटी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतम प्रयोग, प्राकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लगानी गरी पाँच क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका थिए।

दुई वर्षअघि ओलीको पैचिङ बसाइमा नेपाल–चीनबीच १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। भ्रणका बेला यी सम्झौता तथा समझदारीको कार्यान्वयनको समीक्षा पनि गरिने स्रोतले जनायो।

जानकारी तथा लेखहरु