फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एमाले–माओवादी एकता आज

(GMT+08:00) 2018-05-17 15:31:59

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएर अगाडि बढ्ने भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएको हो। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ।

माओवादी प्रवक्ता पम्फा भुषालले बिहिबार अपरान्ह ४ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी एकता घोषणा गरिने जानकारी दिइन्।

पार्टी एकता भएपछि केन्द्रीय समिति ४४१ सदस्यीय र स्थायी समिति ४३ सदस्यीय हुने भएको छ। ५०–५० को हैसियतमा मात्र पार्टी एकता गर्ने माओवादीले जनाएपछि उसले सम्मानजनक संख्या भने पाउने भएको छ। चुनावमा ६०–४० हुँदै अगाडि बढे पनि अहिले भने अझ नजिक आइपुगेको छ।

नेताहरुले दिएको आँकडा अनुसार ४४१ मध्ये माओवादीले २०० को हाराहारीमा र ४३ मध्ये १८ सदस्य माओवादीको हुनेछ।

पार्टी एकता घोषणा गरेपछि बिहिबारै निर्वाचन आयोगमा जनाउ गरिने पनि बताइएको छ।

एकता घोषणा बिहिबार हुने भए पनि पार्टी महाधिवेशन भने दुई वर्षमा हुने पनि बताइएको छ।

अघिल्लो दिन बुधबार दुई दलका अध्यक्षबीच भएको छलफलपछि बिहीबार पार्टी एकता हुने निश्चित भएको हो।

दुवै दलले गत वर्ष २०७४ असोज १७ देखि वाम गठबन्धन बनाएर एकता प्रक्रिया सुरु गरेका थिए। पत्रकार सम्मेलन गरेरै दुवै पार्टीले छिट्टै पार्टी एकता गर्ने घोषणा गरेका थिए। वाम गठबन्धन घोषणा गर्दै माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गरी एउटै घोषणापत्रबाट चुनाव लडेका थिए।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटकपटक एक्लाएक्लै वार्ता समेत भएका थिए। दुवै अध्यक्षले एकताका लागि निरन्तर गरेको छलफलबाट अन्ततः पार्टी एकीकरण गर्ने सहमति भएको हो।

जानकारी तथा लेखहरु