|
|
|
||
चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ। भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ। मुलुकले नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको नागरिकन्यूजले लेखेको छ।
आर्थिक वर्ष ०७४/७५ को नौ महिनासम्ममा कुल वस्तु निर्यात ८.२ प्रतिशतले बढेर ५९ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले बढेका थियो। यस अवधिमा भारततर्फ ६.९ प्रतिशत र अन्य मुलुकतर्फ ७.१ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ।
वस्तुका आधारमा अलैँची, धागो, पोलिस्टर यार्न, अदुवा, तार लगायत वस्तुको निर्यात बढेको छ भने जुस, जिआई पाइप, उनी गलैंचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ। नौ महिनाको अवधिमा मुलुकमा आठ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत वर्षको सोही अवधिको भन्दा २०.६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो।
आयात धेरै वृद्धि हुने देशमा पनि चीन नै अगाडि छ। गत वर्षको तुलनामा यस अवधिमा चीनतर्फको आयात २२.८ प्रतिशतले बढेको छ। त्यसैगरी, सबैभन्दा धेरै आयात हुने छिमेकी मुलुक भारततर्फको आयात २१.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यी दुईबाहेक अन्य देशबाट हुने आयात १५.७ प्रतिशतले बढेको छ।
पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |