फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिनामा एक लाख पर्यटक

(GMT+08:00) 2018-05-18 19:01:03

         पर्यटक आगमनमा अघिल्लो वर्ष नयाँ रेकर्ड कायम गरेको नेपालले सन् २०१८ यता प्रत्येक महिना मासिक औसत एक लाख पर्यटक स्वागत गरेको छ। अध्यागमन विभागको तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिल महिनासम्म तीन लाख ८५ हजार ९०५ जना विदेशी नेपाल भित्रिएका छन्। गड्डाचौकी, धनगढी, रसुवागढी, बेलहिया, जमुनाहा, काँकडभित्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो सङ्ख्या बराबरका पर्यटक भित्रिएको विभागले जनाएको छ।

         अप्रिलभर नेपालले करिब एक लाख पर्यटकको स्वागत गरेको छ। विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका मुख्य नाकाबाट अप्रिलमा विभिन्न ११३ देशका ९८ हजार ६९६ जना पर्यटक नेपाल भित्रिए। यो सङ्ख्या अघिल्लो वर्षको अप्रिल महिनाकै तुलनामा ११.४ प्रतिशतले बढी हो। हिमाल आरोहणको सिजनका रूपमा पनि अप्रिलमा पर्यटकको आगमन बढ्ने गोरखापत्रअनलाईनले लेखेको छ।

         अप्रिलमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन्। विभागका अनुसार १६ हजार ६१२ जना भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन्। त्यस्तै दोस्रो स्थानमा रहेको चीनबाट १२ हजार ५५२ पर्यटक नेपाल आएका छन्। चीनबाट आएका पर्यटकको सङ्ख्या अघिल्लो वर्षको अप्रिल महिनाकै तुलनामा ४६ प्रतिशतले बढी हो। भारतसहित सार्क देशबाट २० हजार ३५० पर्यटक नेपाल आएको तथ्याङ्क छ। चीनसहित सार्क बाहेक एसियाका अन्य देशबाट २३ हजार ९९३ पर्यटक नेपाल आएका छन्।

          युरोपबाट २६ हजार ५०२ जना पर्यटक भित्रिएका छन्। त्यसमध्ये सबैभन्दा धेरै संयुक्त अधिराज्यबाट छ हजार ७२ जना पर्यटक नेपाल आएका छन्। यद्यपि यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले कम हो। संयुक्त राज्य अमेरिकाबाट आठ हजार १९१ र क्यानाडाबाट १८२६ पर्यटक नेपाल भित्रिएका छन्। अस्ट्रेलिया र न्युजिल्यान्डबाट कुल चार हजार ५६२ पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ।

जानकारी तथा लेखहरु