फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँबाट चीन जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक नौ महिनाअगाडि नै निर्माण सम्पन्न

(GMT+08:00) 2018-05-19 14:22:45

नेपाली सेनाले बहुचर्चित मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड निर्धारित समयभन्दा नौ महिनाअघि निर्माण सम्पन्न गरी सरकारलाई आइतबार हस्तान्तरण गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले यो सडकखण्डको सम्पूर्ण निर्माण सम्पन्न भइसकेकाले आइतबार हस्तान्तरण गर्ने तयारी गरेको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। काठमाडौँबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक खण्डको निर्माण कार्य २०७२ वैशाखदेखि सुरु भएको हो।

नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय मार्गका रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको यो खण्डको कुल लम्बाइ ८४ किलोमिटर छ भने चौडाइ नौदेखि ११ मिटर रहेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार १३० फिट लामो बेलिब्रिज निर्माण गरिएको छ।

रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १७ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको छ भने गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ।

चीनसँग रसुवागढी नाका जोड्न यो सडकखण्डले विशेष महìव राख्ने गर्दछ। सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक), जाजरकोट डोल्पा, बेनीघाट लार्केभन्ज्याङलगायत सडकखण्ड निर्माण गरिरहेको छ।

सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकको विभिन्न भागमा सडक निर्माण गरिरहेको छ। बीसवर्षे यो दीर्घकालीन सडक गुरुयोजनाअनुसार पहाडमा चार घन्टामा र तराईमा दुई घन्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ।

जानकारी तथा लेखहरु