फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दुई वर्षमै दोब्बर विदेशी लगानी

(GMT+08:00) 2018-05-19 14:25:49

दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको गोरखापत्र अनलाइनले लेखेको छ।

यो रकम आर्थिक वर्ष २०७२/७३ भर नेपालले प्राप्त गरेको विदेशी लगानीको तुलनामा दोब्बर बढी हो। सो आवभर नेपालले पाँच अर्ब ९२ करोड रुपियाँको प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको थियो। सोही आवको नौ महिनासम्मको तथ्याङ्क अनुसार चालू आवको समीक्षा अवधिसम्म प्राप्त लगानी भने तेब्बर बढी हुन आउँछ। त्यतिबेला नेपालले चार अर्ब १९ करोड रुपियाँको लगानी भित्र्याएको थियो।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आवको तुलनामा अहिलेसम्म प्राप्त लगानी ३० प्रतिशतले वृद्धि भएको छ। गत आवको नौ महिनासम्म नेपालले विदेशी लगानीबापत ११ अर्ब छ करोड रुपियाँ प्राप्त गरेको थियो।

यस्तै, अघिल्लो आर्थिक वर्षभर १३ अर्ब ५० करोड रुपियाँ लगानी भित्र्याउन सफल भएको थियो। भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रको समग्र सूचकाङ्क खराब रहेको स्थितिबाट गत आवमा नेपालले प्राप्त गरेको उक्त लगानीले सकारात्मक सन्देश दिएको थियो। उक्त रकम नेपालले एकै आर्थिक वर्षमा प्राप्त गरेको प्रत्यक्ष विदेशी लगानीमा दशककै सबैभन्दा बढी हो। त्यसयता नेपालले विदेशी लगानीमा बापत प्राप्त हुने रकम नियमित बढ्ने क्रममा छ।

वार्षिक अर्बौं रुपियाँको विदेशी लगानीको प्रतिबद्धता नेपालले प्राप्त गर्ने भए पनि वास्तविक लगानी निकै कम देखिन्छ। नेपालमा विदेशी लगानी खुला भएयता विदेशी लगानीकर्ताबाट खर्बौं रुपियाँको लगानी प्रतिबद्धता व्यक्त भए पनि अहिलेसम्म नेपालमा डेढ खर्ब रुपियाँको हाराहारीमा मात्र प्रत्यक्ष विदेशी लगानी प्राप्त भएको राष्ट्र बैङ्कले जनाएको छ।

चालू आवकै नौ महिनासम्म नेपालले पर्यटन तथा यात्राबाट ५० अर्ब ३० करोड रुपियाँ बराबरको विदेशी रकम प्राप्त गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसरी भित्रने रकम १४ प्रतिशतले बढी हो। यद्यपि यही शीर्षकमा नेपालबाट बाहिरिने रकम भने तुलनात्मक रूपमा बढी देखिन्छ। तथ्याङ्क अनुसार समीक्षा अवधिसम्म नेपालबाट यात्रा तथा भ्रमणबापत ५८ अर्ब ३४ करोड रुपियाँ बाहिरिएको छ।

जानकारी तथा लेखहरु