फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ दिनमा २२४ जना सगरमाथा चुचुरोमा

(GMT+08:00) 2018-05-19 14:28:50

सर्वोच्च शिखर सगरमाथामा हिजो शुक्रबार ६५ आरोही पुगेका छन्। आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भएअनुसार ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेको कान्तिपुर अनलाइनले लेखेको छ। आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरुको संख्या २ सय २४ पुगेको छ।

बिहीबार ९ नेपाली र नौ विदेशीसहित १८ जना आरोही चुचुरोमा पुगेका थिए। गत आइतबार यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ नेपाली (शेर्पा) को समूह बाटो बनाउँदै सबैभन्दा पहिले चुचुरोमा पुगेपछि आरोहण सुरु भएको थियो। यसवर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ४३ मुलुकका ३ सय ४६ आरोही सगरमाथा पुगेका छन्। तिनमा ६० महिला र २ सय ८६ पुरुष आरोही छन्। आरोहीका साथसाथै करिब ४ सय हाराहारी हाई अल्टिच्युट शेर्पा गाइड पनि छन्।

पर्यटन विभागका अनुसार यसपटक सबैभन्दा धेरै अमेरिकी ६४, भारतीय ५९, चिनियाँ ५४ र बेलायती २४ छन्। यसपटक ५ महिलासहित २० जना नेपाली छन्। यो सिजनमा सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि विभागबाट अनुमति जारी भएको छ। जसमा १ सय ५ आरोहण दल सम्मिलित छन् भने ८ सय ३९ सदस्य छन्। विभागले आरोहण अनुमतिबाट ४१ करोड २८ लाख संकलन गरेको छ। यसमध्ये सबैभन्दा धेरै ३५ करोड ३५ करोड सगरमाथाबाटै संकलन भएको छ।

आरोहणका लागि भृकुटीमण्डपमा रहेको पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागलाई दस्तुर बुझाउनु पर्छ। यस्लाई सलामी भनिन्छ। सलामी तिरेपछि मात्रै हिमाल आरोहणको अनुमति पाइन्छ। सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (११,९१,३०० रुपैयाँ) तिर्नुपर्छ। यो वषन्तकालीन यामको सलामी दस्तुर हो। जाडो र बर्खामा २७५० डलरमात्रै लाग्छ। नेपालीलाई भने ७५ हजार रुपैयाँ दस्तुर लाग्छ भने बर्खा र हिउँदयाममा १८ हजार २ सय ५० रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ।

६ हजार ५ सय मिटरभन्दा साना हिमालमा सबैभन्दा कम दस्तुर विदेशीका लागि ७ हजार र नेपालीका लागि १ हजार लाग्छ। अहिले मध्य र सुदूरपश्चिमका हिमाल आरोहणका लागि भने दस्तुर तिर्नु पर्दैन।

सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ। यीमध्ये ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ। सरकारले वर्षमा चारपटक (वसन्त, बर्खा, शरद र हिउँदयाम) हिमाल आरोहणका लागि खोल्ने गरेको छ। यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोहणका लागि हिमालका आधार शिविरमा पुग्ने गर्दछन्।

जानकारी तथा लेखहरु