फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोटरसाइकललाई २ सय रुपैयाँ प्रदुषण कर

(GMT+08:00) 2018-05-19 14:29:54

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि दुईपाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर)मा प्रदूषण कर लगाउने भएको छ। वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको कारोबार अनलाइनले लेखेको छ। उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ। यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो।

बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदुषण कर संकलन गर्न सकिनेगरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिनुभयो। विभागले गरेको प्रस्तावअनुसार अर्थले स्वीकृति दिने सम्भावना प्रबल छ। विभागले सबैखाले क्षमताका मोटरसाइकल प्रयोगकर्तासँग समान दरमा प्रदुषण कर संकलन गर्ने तयारीसहित अर्थ मन्त्रालयमा प्रस्ताव गरेको भट्टराईले जानकारी दिनुभयो। "यसअघि दुईपाङ्ग्रे सवारीमा प्रदुषण कर लिने व्यवस्था थिएन," उहाँले भन्नुभयो, "आगामी आर्थिक वर्षदेखि प्रदुषण कर लिने प्रस्ताव गरिएको हो, त्यसमा अर्थको सहमति भयो भने कार्यान्वयन हुनसक्छ।"

विभागको तथ्यांकअनुसार हालसम्म देशभर २४ लाखभन्दा बढी मोटरसाइकल दर्ता भएका छन्। आर्थिक वर्ष २०७३-०७४ मा मात्रै देशभर ३ लाख ५४ हजारभन्दा बढी मोटरसाइकल थपिएका थिए। चालू आवको सात महिनामै १ लाख ७७ हजारभन्दा बढी मोटरसाइकल थपिइसकेका छन्। विभागका अनुसार २०७४-०७५ को माघ मसान्तसम्ममा देशभर २३ लाख ६६ हजार भन्दा बढी मोटरसाइकल दर्ता भइसकेका छन्। अर्थले स्वीकृति दिए सरकारले वार्षिक ५० करोडभन्दा बढी राजस्व संकलन गर्न सक्छ।

अब थप हुने प्रदुषण करबाहेक पनि मोटरसाइकल प्रयोगकर्ताले हाल सडक मर्मतसम्भार दस्तुर र सवारी साधन करको नाममा यातायात व्यवस्था विभागले कर संकलन गर्दै आएको छ। साविकका करको शीर्षक यथावत राख्दै प्रदुषण कर थप्ने तयारी भइरहेको छ। मोटरसाइकल खरिद गर्दा सीसीको आधारमा सडक निर्माण तथा सम्भार कर तिर्नुपर्ने सरकारी नियम छ। सडक निर्माण तथा सम्भार कर भने वर्षिक रूपमा तिर्नुपर्दैन। यो शीर्षकको कर खरिद गर्दा एकपटक तिरे पुग्छ।

जानकारी तथा लेखहरु