फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन प्रसारण लाइनमा चासो

(GMT+08:00) 2018-05-20 14:38:55

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणबारे अध्ययन थाल्न चिनियाँ पक्षले चासो देखाएको छ। चिनियाँ पक्षले संयुक्त रूपमा विस्तृत आयोजना प्रतिवेदन तयार पार्न नेपाल विद्युत् प्राधिकरणलाई प्रस्ताव पेस गरिसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

गत साता प्राप्त पत्रमा संयुक्त रूपमा विस्तृत आयोजना प्रतिवेदन तयार पार्न आग्रह गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। प्रसारण लाइन गल्छीदेखि चीनको सिगात्सेसम्म विस्तार गरिनेछ।

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको निर्माणको लागि चीन सरकारका तर्फबाट जिम्मेवारी पाएको ग्रिड कर्पोरेसन अफ चाइनाले प्रस्ताव पेस गरेको हो। प्राधिकरणका अनुगमन विभाग प्रमुख कोमल आत्रेयले सकेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणसम्ममा नेपाली पक्षले चिनियाँ पक्षको प्रस्तावबारे अध्ययन सक्ने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा प्रसारण लाइन निर्माणका लागि सहमति हुने गरी तयारी थालिएको प्राधिकरणले जनाएको छ। चिनियाँ पक्षको प्रस्तावबारे प्राधिकरण टोलीले अध्ययन गरिरहेको उहाँले बताउनुभयो। चिनियाँ पक्षले आआफ्नो भूभागमा जति प्रसारण लाइन पर्ने हो त्यसकै आधारमा दुवै देशले खर्च बेहोर्नसमेत प्रस्तावमा उल्लेख गरेको छ।

प्रस्तावमा उल्लेख भएका कतिपय विषयहरू चिनियाँ पक्षसँग छलफल गरी प्रस्ट धारणा बनाइने आत्रेयले जानकारी दिनुभयो। ८ सय किलोमिटर लामो हुने प्रसारण लाइनको ८० किलोमिटर मात्रै नेपाली भूभागमा पर्छ। आफ्नो तर्फको अध्ययन र तयारी सकेर प्रस्तावलाई ऊर्जा मन्त्रालय पठाउने प्राधिकरणले बताएको छ।

धादिङको गल्छीदेखि सुरु हुने प्रसारण लाइन रसुवागढीसम्म नेपाली भूभागमा पर्छ। यसको दुरी करिब ८० किलोमिटर रहनेछ। प्राधिकरणले यसअघि नै चीनसम्म जोड्ने प्रसारण लाइन निर्माणको लागि नेपाली भूभागको सम्भाव्यता अध्ययन गरिसकेको छ। अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि चिनियाँ अधिकारीले अघिल्लो वर्ष नेपाल आएर प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेका थिए। चिनियाँ पक्षले सुरुमा रसुवागढीदेखि चीनको केरुङसम्म अन्तरदेशीय प्रसारण लाइन बनाउन प्रस्ताव गरे पनि नेपाली पक्षले यसलाई गल्छीसम्म ल्याउने प्रस्ताव राखेका हुन्।

चीनसँगको प्रसारण लाइनलाई गल्छीसम्म ल्याउँदा यसलाई भविष्यमा भारतसँगको अन्तरदेशीय प्रसारण लाइनसँग जोड्न सजिलो हुने प्राधिकरणको भनाइ छ। दोस्रो नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन वुटबलदेखि भारतको गोरखपुरसम्म निर्माण गर्ने तयारी छ। ऊर्जा मन्त्रालयले अबको ४ वर्षभित्र भारत जोड्ने ४०० केभी क्षमताको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने घोषणा गरेको छ। ऊर्जा मन्त्री वर्षमान पुनले वैशाखको अन्तिम साता गरेको श्वेतपत्रमा ४ वर्षमा भारतसँगको दोस्रो प्रसारण लाइनको काम सक्ने उल्लेख गरिएको छ।

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर अहिले सञ्चालनमा छ। हाल १३२ केभी क्षमतामा सञ्चालन भइरहेको प्रसारण लाइनलाई ४०० केभीए बनाउने काम केही सातामै सकिँदैछ।चीनले सिगात्सेसम्म उच्च भोल्टेजको प्रसारण लाइन ल्याइपुर्‍याइसकेको छ। नेपाली पक्षले अन्तरदेशीय प्रसाण लाइनमा तदारुकता देखाए डेढ वर्षभित्र प्रसारण लाइनलाई केरुङसम्म ल्याउन सकिने चिनियाँ पक्षले बताउँदै आएका छन्।

जानकारी तथा लेखहरु