फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई उपहार दिन अर्को 'केटो' लाई पनि 'पिट बोमा' मा राखियो

(GMT+08:00) 2018-05-20 14:41:12

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि 'पिट बोमा' (सानो खोर) मा राखिएको छ। चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्को बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर केटोलाई भारत पुर्‍याएको थियो। गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको छ।

अन्य तीनवटा गैँडाको बच्चालाई हालैमात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ। सोही नजिक अर्को बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको पाठकले जानकारी दिनुभयो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'निकुञ्जबाट हालै ल्याइएका अन्य गैँडासमेत तन्दुरुस्त छन्। सबै खानेकुरा सजिलै खान थालेका छन्।'

अहिले यहाँ राखिएका चारवटै गैँडालाई दूध, फलफूल, घाँसलगायत खानेकुरा दिएर नियमित अनुगमन गर्ने गरिएको छ। पशु चिकित्सकसहितको टोलीले ती गैँडाको निगरानी गरिरहेको हो।

सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ। एक जोडी गैँडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म दुई दर्जनभन्दा बढी गैँडा उपहार दिइसकेको छ।

रासस

जानकारी तथा लेखहरु