फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेनाद्वारा चीन जोड्ने छोटो बाटो निर्माण पूरा गरी हस्तान्तरण

(GMT+08:00) 2018-05-20 14:44:40

नेपाली सेनाले निर्माण गरेको काठमाडौंसँग चिनियाँ नाका जोड्ने छोटो बाटो आज हस्तान्तरण भएको छ। नेपाली सेनाले मैलुङ–स्याप्रुवेशी सडक ट्रयाक खोलेपछि चिनियाँ नाका रसुवागढी जोड्ने छोटो बाटो खुलेको सेतोपाटी अनलाइनले लेखेको छ।

रक्षा मन्त्री ईश्वर पोखरेलले आज आइतबार बिहान मैलुङमा आयोजित एक कार्यक्रमबीच बाटोको उद्घाटन गर्नु भएको हो। बाटो उद्घाटनपछि रक्षा मन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारी गाडी चढेर स्याप्रुवेशी पुग्नुभयो।

नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याप्रुवेशी सडकको ट्रयाक खोलेको थियो। १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ। बर्खाबाहेक अन्य समयमा सबै किसिमका गाडी चलाउन मिल्नेगरी ट्रयाक तयार भएको सेनाले जनाएको छ।

सेनाले सो बाटो आजै सडक विभागलाई हस्तान्तरण गरेको छ। विभागले सडक कालोपत्रे गर्ने काम सुरु गर्नेछ। २ वर्षभित्र मैलुङ–स्याप्रुवेशी सडक कालोपत्रे गरिसक्ने गरी काम भइरहेको विभागले जनाएको छ।

पासाङल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे –स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरोध हुने गर्छ।

नयाँ बनेको बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडक ३१ किलोमिटरको छ। त्रिशुलीको किनारैकिनार जाने बेत्रावती– मैलुङ–स्याप्रुवेशी खण्डमा ठूला घुम्ती छैनन्। सडक स्याप्रुवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ।

मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ। विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ। गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ।

स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो चीन सरकारले दुई लेन बनाएर कालोपत्रे गर्ने सम्झौता भइसकेको छ। यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडकमात्र होइन नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हो। रसुवागढी–गल्छी–मुग्लिन–भरतपुर हुँदै यो बाटोको चितवन ठोरीमा भारतीय नाकासँग जोडिन्छ। गत भदौमा नेपाल र चीनले रसुवागढी–केरूङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन्।

रसुवागढी–केरूङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो। यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सक्थे।

अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण भएसँगै रसुवागढी–केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन्।

चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक लगायत पूर्वाधार तयार पारिसकेको भए पनि नेपाली पक्षले गर्नुपर्ने धेरै काम बाँकी छन्।

जानकारी तथा लेखहरु