फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्राविधिक टोलीद्वारा केरुङ-काठमाडौं रेलमार्गको अध्ययन सुरु

(GMT+08:00) 2018-05-22 16:17:27

चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ। यसका लागि चिनियाँ प्राविधिक टोलीले हिजो सोमबारबाट काम थालेको छ। प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य रहेको अनलाइन खबरले लेखेको छ। सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर काम थालेको हो।

सोमबार काठमाडौंका विभिन्न स्थानमा पुगेर स्टेशनहरुबारे अध्ययन गरेको टोली मंगलबार रेल्वे विभागको प्राविधिक टोलीसँगै केरुङ गएको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डलले गत चैतमा चीन पुगेर सम्भाव्यता अध्ययन अघि बढाउँदै सम्झौता गरेको थियो। रेल विभागका एक अधिकारीले सुरुमा आउने प्रतिवेदनले केरुङ-काठमाडौं रेलमार्ग बनाउन कसरी काम सुरु गर्ने भन्ने मार्गनिर्देश गर्ने बताए। यसले भौगोलिक कठिनाइहरु पनि पत्ता लगाउनेछ भने सम्भावित स्टेशनहरु पनि खोज्नेछ।

रेलललाई काठमाडौंमा कुन क्षेत्रबाट गुडाउने भन्ने विषय पनि यही प्रतिवेदनमा समावेश हुनेछ। सम्भवतः केरुङ-काठमाडौं रेलमार्ग काठमाडौंको टोखा क्षेत्रबाट प्रवेश गर्ने रेल विभागका एक अधिकारीले बताए। तर अन्य क्षेत्रबारे पनि अध्ययन भइरहेकाले अहिले नै कहाँबाट रेलमार्ग बन्छ भन्ने विषय फाइनल नहुने उनको भनाइ छ।

यो अध्ययनका लागि आवश्यक खर्च चिनियाँ पक्षले नै व्यहाेरेकाे छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उल्लेख गरेको छ।

चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो। हाल ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ। र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ। यो रेल मार्गलाई काठमाडौंसम्म जोड्ने योजनाका साथ चिनियाँ टोली सम्भाव्यता अध्ययन गर्न नेपाल आएको हो।

जानकारी तथा लेखहरु