फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत–चीन जोड्ने सडक शिलान्यास

(GMT+08:00) 2018-05-22 16:22:19

कर्णाली प्रदेश सरकारले नेपाल हुँदै भारत र चीनलाई जोड्ने त्रिदेशीय सडक जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सडक निर्माणको शिलान्यास गरेको छ। यस सडकको दैलेख माथिल्लो डुँगेश्वरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार शिलान्यास गर्नु भएको कारोबार अनलाइनले लेखेको छ।

जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना त्रि–देशीय राष्ट्रिय गौरवको सडकअन्तर्गत दैलेख खण्डको दैलेख माथिल्लो डुंगेश्वरदेखि दुल्लु सडक खण्डको शिलान्यास मुख्यमन्त्री शाहीले आफैले डोजर चलाएर गर्नुभयो। बाँकेको जमुनाह–कोहलपुर–दैलेख–मुगुको नाग्चेलाग्ना हुँदै चीनको सिमासम्म जोड्ने उक्त सडक निर्माणलाई प्रदेश सरकारले पहिलो विनियोजन विधेयकमा महत्वका साथ प्रस्तुत गरेको थियो।

सडकका लागि चालू आर्थिक वर्षमा ३ करोड ३५ लाख १६ हजार बजेट विनियोजन गरिएको छ। सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ। प्रदेश सरकारको यो सडक योजना पूर्णरूपमा निर्माण भए कर्णाली प्रदेश चीनसँग जोडिने छ। मुख्यमन्त्री शाहीले विकास निर्माणमा कर्णालीले फड्को मार्ने जिकिर गर्नुभयो। कर्णालीका सबै ठाउँमा यातायातको पहुँच विस्तार गर्ने योजना प्रदेशको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो।

"अहिले सम्म विकासमा पछाडि परेका थियौं, अब अगाडि बढ्नका लागि कसैले पनि रोक्न सक्दैन," उहाँले भन्नुभयो। कर्णालीमा अब कोही पनि पछि पर्येउ भनेर पछुताउनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ। कर्णालीलाई चीनसँग जोड्न मदत पुग्नेगरी सरकारले आफ्ना कामकारवाही तीव्र पारेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार निती तथा कार्यक्रमको कार्यान्वयनमा चरणमा रहेको बताउनुभयो। मन्त्री ज्वालाले कानुन अभावसँगै जनशक्ति र संयन्त्र अभावका कारण आगामी आर्थिक वर्षका लागि बजेटको तयारीसँगै छोटो समयमा ल्याएको बजेट खर्चिनुपर्ने बाध्यता सरकारसँग रहेको जानकारी दिनुभयो। उहाँले कर्णाली प्रदेश अब विकास गतिमा अघि बढेको बताउनुभयो।

जानकारी तथा लेखहरु