फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली महिला पत्रकार टोलीद्वारा सगरमाथा सफल आरोहण

(GMT+08:00) 2018-05-23 17:01:29

राष्ट्रिय समाचार समिति (रासस) की पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ। बस्नेतसहित आज बुधबार सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ। 'समानताका लागि बुलन्द आवाज' भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो।

समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन्। पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्। सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

उहाँहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्‍याउनु भएको छ। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको यो याम सकिन लागेको छ। अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो। बुधबार बिहानसम्म ३४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।

जानकारी तथा लेखहरु