फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'वाइड बडी' जहाज उडानका लागि स्लट उपलब्ध गराउन निगमको माग

(GMT+08:00) 2018-05-23 17:43:29

नेपाल बायुसेवा निगमले एयरबस ३३०–२०० 'वाइड बडी' उडानका लागि स्लट उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ। असार अन्तिम सातादेखि 'वाइड बडी' विमानबाट उडान गर्ने तयारी सहित निगमले प्रक्रिया अगाडि बढाएको नेपाल खबर अनलाइनले लेखेको छ।

पहिलो चरणमा 'वाइड बडी' विमानले दुबई र साउदी अरेबियामा उडान गर्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो। त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्लट उपलब्ध गराउन प्राधिकरणलाई पत्र पठाइएको हो। यसअघि १३ असारमा नेपाल आइपुग्ने भनिएका 'वाइड बडी' ले नयाँ गन्तव्यका रुपमा कोरिया, साउदी र जापान उडान गर्ने भनिएको थियो। तर कोरियाली र जापानी नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिबारे कुनै प्रतिक्रिया नदिएपछि पहिलो चरणमा नयाँ गन्तव्यका रुपमा साउदी अरेबियामा मात्र उडानको योजना बनाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

वाइडबडी विमानले पहिलो चरणमा उडान गर्ने गन्तव्यहरु मध्ये दुबाई भने पुरानो नै हो। दुईवटा 'वाइड बडी' मध्ये एउटाको 'एसेम्बल' कार्य सम्पन्न भएकाले नेपाल ल्याउने तयारी भइरहेको छ। फ्रान्सस्थित एयरबस फ्याक्ट्रीमा एसेम्बलपछि नेपाल एयरलाइन्सको 'थिम कलर' एवं 'लोगो पेन्टिङ' को काम समेत पूरा भइसकेको निगमले जनाएको छ।

यो विमान निरीक्षणका लागि निगमको एउटा टोली अघिल्लो महिना फ्रान्स पुगेर फर्किएको थियो भने दोस्रो टोली समेत फ्रान्स पुगेर फर्केका छन्। निगमको महाप्रबन्धक सहितको सञ्चालक समितिका टोली 'वाइड बडी' विमान निरीक्षणका लागि बैशाख २८ गते फ्रान्स गएका थिए।

नेपाल एयरलाइन्सले एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेका दुई एयरबस ३३०–२०० 'वाइड बडी' विमान उडानका लागि पाइलटलाई तालिम दिन फ्रान्स पठाइसकेको छ। पहिलो चरणमा निगमले एयरबस ३२०–२०० विमान उडान गर्दै आएका दुई जना पाइलटलाई ३१ बैशाखमा फ्रान्स पठाइएको थियो। तिनमा सजल कुइँकेल र सन्दीप पौडेल थिए।

दुई 'वाइड बडी'उडानका लागि थप नेपाली पाइलटलाई केही हप्ता पछि नै तालिमका लागि विदेश पठाउने तयारी निगमको छ। निगमले हाल अन्तर्राष्ट्रिय उडान बोइङ ९ एसिबी–५७५ र दुईवटा एयरबस ३२० विमानबाट गर्दै आएको छ। उसले नेपालबाट ८ गन्तव्यमा अन्तर्रा्ष्ट्रिय उडान गर्छ। हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँदिल्ली, बेङ्लोर र मुम्बईमा नेपाल एयरलाइन्सका उडान रहेका छन्।

आन्तरिक उडानका लागि निगमसँग वाइ १२ चारवटा र एमए १६ दुईवटा र ३ वटा ट्वीनअटर विमान छन्।

जानकारी तथा लेखहरु