फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन निजी क्षेत्रबाट हुने

(GMT+08:00) 2018-05-24 15:40:02

नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ। हिजो बुधबार विमानस्थलको अवलोकन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, 'विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रलाई नदिइकन यसलाई प्रतिस्पर्धी बनाउन सकिँदैन त्यसैले पनि यसको सञ्चालनको लागि निजी क्षेत्रलाई दिनुपर्ने मन्त्रालयको ठम्याइ छ।'

निर्माण सम्पन्न भए पनि भारतले हवाइ रुट नदिने चर्चा चलिरहेका बेला उहाँले निर्माण सम्पन्न भएलगत्तै विमानस्थल सञ्चालनमा ल्याइने पनि बताउनु भएको छ। मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भएकाले निर्माण सकिए लगत्तै सञ्चालनमा ल्याइने दाबी गर्नुभयो।

'अहिले हवाई रुटबारे कुरा अगाडि बढिरहेको छ, मलाई विश्वास छ विमानस्थल तयार हुँदा हवाइ रुट प्राप्त गरेका हुन्छौं र यसको सञ्चालनको मोडल पनि टुंगो लगाइसकेका हुन्छौं,' उहाँले भन्नुभयो।

पर्यटन मन्त्रालयको जिम्मेवारी लिएपछि दोस्रोपटक विमानस्थल अनुगमनमा भैरहवा पुग्नु भएका मन्त्री अधिकारीले पछिल्लो समय निर्माण प्रगति सन्तोषजनक भएको भन्दै समयमै निर्माण पुरा गर्न आयोजनालाई निर्देशन दिनुभयो।

उहाँले विशेष महत्त्व दिएर आफूले देशभर निर्माणाधीन विमानस्थल हरेक १५/१५ दिनमा अनुगमन गरिरहेको जनाउँदै अबको ४५/५० दिनमा रनवे पिचका लागि तयार गर्नुपर्ने बताउनुभयो। मन्त्री अधिकारीले हरेक महिनाको दुईपटक निर्माण प्रगतिबारे आफूलाई जानकारी गराउन पनि आयोजनालाई निर्देशन दिनु भएको छ।

तीन वर्षमा सक्ने गरी ६ अर्ब २२ करोड रुपैयाँ लागतमा २०७१ सालदेखि चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएशनले विमानस्थल निर्माणको काम सुरू गरेको हो। तर, निर्माण कम्पनीको आन्तरिक तथा अन्य बाह्य कारण विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ। अहिलेसम्म ४० प्रतिशत निर्माण सम्पन्न भएको विमानस्थल सन् २०१९ को जुनदेखि सञ्चालनमा ल्याउने बताइएको छ।

जानकारी तथा लेखहरु