फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा केबलकार चलाउन फ्रान्सको प्रस्ताव

(GMT+08:00) 2018-05-25 18:34:58

नेपालको संघीय राजधानी काठमाडौंमा यात्रु चापका कारण ट्राफिक जाम र वायु प्रदूषण बढिरहेका बेला फ्रान्सेली सरकारले केबलकार सञ्चालनको प्रस्ताव नेपाल सरकारलाई बुझाएको छ। नेपालका लागि फ्रान्सेली राजदूत यिभ कारमोनाले 'काठमाडौं सिटी अर्बान केबल कार परियोजना'को पूर्ण सम्भाव्यता अध्ययन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

हिजो बिहीबार फ्रान्सेली राजदूतले हस्तान्तरण गरेको अध्ययन प्रतिवेदन फ्रान्स सरकारकै लागतमा तयार पारिएको हो। यो अध्ययनमा रेल्वे इन्जिनियरिङमा ख्याती कमाएको अन्तर्राष्ट्रिय कम्पनी स्यास्त्रा र एमडिपीले संलग्न थिए। नेपालको राजधानीमा केबल कार सञ्चालन गर्ने विषयलाई उच्च महत्व दिँदै अध्ययन प्रतिवेदन हस्तान्तरण समारोहमा भाग लिन नयाँ दिल्लीस्थित फ्रान्सेली दूतावासको प्रतिनिधिमण्डल समेत काठमाडौं आएको छ। फ्रान्सेली प्रतिनिधिमण्डलमा दिल्लीस्थित फ्रान्सेली दूतावासका दक्षिण एसिया आर्थिक विभागका प्रमुख जाँ मार्क फेनेत, दिगो विकास परामर्शदाता फ्यानी हर्भ प्रतिवेदन हस्तान्तरण समारोहमा उपस्थित थिए। सम्भाव्यता अध्ययनमा संलग्न फ्रान्सेली कम्पनीहरु एमडिपी, एसवाइएसटिआरए र पिओएमएका प्रतिनिधि पनि काठमाडौँ आएका छन्।

काठमाडौंमा केबलकार इन्जिनियरिंगका लागि फ्रान्सले छानेको पिओएमए विश्वकै उत्कृष्ट केबलकार एवं रोपवे निर्माता कम्पनी हो। यसले अहिलेसम्म ८० मुलुकमा ८ हजारभन्दा बढी केवलकार परियोजना निर्माण गरेको छ।

काठमाडौँमा सहरी केबल यातायात सकेसम्म चाँडो सञ्चालन गर्ने उद्देश्यले यो अध्ययन गरिएको काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ। चाँडो निर्माण सम्पन्न गर्न सकिने, सस्तो, दीगो र ट्राफिक जाम र धुलोधुँवासँग जुध्नका लागि केबलकार उपयुक्त हुने दूतावासले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु