फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोदीको भ्रमणपछि जनकपुरमा बढे भारतीय पर्यटक

(GMT+08:00) 2018-05-26 14:08:34

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जनकपुरमा छिमेकी मुलुकबाट पर्यटकको ओइरो लागेको छ। यहाँका होटल, धर्मशाला तथा लजहरू भरिभराउ छन्। होटल, लज, धर्मशालामा बस्न नपाएपछि एक सयजनाभन्दा बढी पर्यटक जानकी मन्दिर परिसरमा रात बिताउन बाध्य कान्तिपुर अनलाइनले लेखेको छ।

होटल, लज र धर्मशाला नपाएपछि बिचल्लीमा परेका पर्यटकलाई स्थानीय युवाले जानकी मन्दिरमा बस्ने व्यवस्था मिलाएका थिए। 'उनीहरू बिचल्लीमा थिए, मन्दिर खोलेर बस्ने व्यवस्था मिलायौं,' राष्ट्रिय जनता पार्टीका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले भन्नुभयो, 'उनीहरू अंगराजसर पोखरीको डिलमा खाना पकाएर खाए अनि मन्दिर परिसरमै सुते।'

मंगलबार बिहान यहाँ आएका आन्ध्र प्रदेश कोन्टुरका केशरी वेंकटसित रेल्वेस्टेसन एरियास्थित होटल आनन्दमा भेट हुँदा ६० जनाको टोलीको नेतृत्व गर्दै ११ दिने धार्मिक यात्रामा नेपाल आएको बताउनुभयो। धार्मिक यात्राको नेतृत्वकर्ता वेंकटले मोदीको जनकपुर भ्रमणपछि आन्ध्रप्रदेशमा जनकपुर भ्रमणको लहर चलेको बताउनुभयो। 'सीताको जन्मस्थलका रूपमा जनकपुर प्रख्यात छ तर मोदीको भ्रमणपछि अझ चर्चित बनेको छ,' उहाँले भन्नुभयो, 'यस वर्षको भ्रमण तालिका परिवर्तन गरेर यहाँ आएको बताउँदै उहाँले भन्नुभयो, 'यस वर्ष जनकपुर आउने योजना थिएन, एक्कासि भ्रमणतालिका परिवर्तन गरेर यहाँ आयौं।'

होटल आनन्दका सञ्चालक अशोक जलानले वैशाख २८ (मोदीको जनकपुर भ्रमण भएको दिन) यता भारतीय पर्यटकको ओइरो लागेको बताउनुभयो। जलानका अनुसार अचेल यहाँका सम्पूर्ण होटल, धर्मशाला, लज भरिभराउ छन्। जनकपुरमा होटल सीताशरण, जानकी, रामा, सीता पैलेश, सिटी पैलेस, वेलकम होटल, आनन्द, नमस्कारसहित डेढ दर्जनभन्दा बढी राम्रा होटल छन् भने गोपाल धर्मशाला, पगलाबाबा, माडवारी सेवा समिति, रौनियार धर्मशाला, यात्री निवासलगायतका सुविधा सम्पन्न धर्मशालालगायत अन्य साना ठूला लज छन्। होटलहरूमा ५ सयजना र धर्मशाला र लजहरूमा ५ सयजना गरी एक हजारजना पर्यटकलाई दैनिक बासस्थान दिन सक्ने क्षमता रहेको होटल व्यावसायी अशोक जलानले बताए। राजपाका प्रवक्ता कृष्णा सिंहका अनुसार सोमबार र मंगलबार जनकपुरमा ३१ वटा बसमा पर्यटकहरू आएका छन्। प्रत्येक बसमा ४० जनाका दरले दुई दिनमा एक हजार ३ सयभन्दा बढी पर्यटक आएका छन्।

पर्यटकहरूको आगमनमा वृद्धि भए पनि जनकपुर उपमहानगरपालिका, प्रदेश सरकार, पर्यटन कार्यालय, विदेह मिथिला पर्यटन केन्द्रलगायतका सरकारी संयन्त्र बेखबर छन्। राजपा नेता सिंहले भन्नुभयो, 'आवास र खानाको कुरा परै जाओस्, पर्यटकलाई गाइड गर्नेसम्म कोही छैन। व्यावसायिक गाइडको अभावमा यहाँका सिटी रिक्साका चालकहरू पर्यटक गाइडका रूपमा काम गर्दै छन्। ई–रिक्सा चालक शम्भुप्रसाद साहका अनुसार जानकी पुस्तक भण्डारले प्रकाशन गरेको 'जनकपुरधामकी झाँकी' पुस्तक नै यहाँको आधिकारिक गाइड किताब हो। 'पुस्तकमा जनकपुरका जानकी मन्दिर, राममन्दिर, संकटमोचन, राजदेवी मन्दिर, मणिमण्डप, गंगासागर, धनुषसागरसहित १४ स्थानको सचित्र वर्णन छ।

पर्यटकहरू ३ घण्टाका लागि ई–रिक्सा बुक गर्छन् अनि यी स्थानहरूको दर्शन गर्छन्। ई–रिक्सा चालक साहले भने, 'ई–रिक्सामा पाँचजनालाई बसाउँछौं अनि सबै स्थानको दर्शन गराउँछौं।' यसरी ३ घण्टामा आफूहरू ५ सय भारतीय रुपियाँ कमाउने गरेको उहाँले जानकारी दिनुभयो। जनकपुर उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकार जनकपुरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने घोषणा गरेका छन्। तर, कुनै सकारात्मक नीति तथा कार्यक्रम भने ल्याउन सकेका छैनन्।

'जानकी मन्दिर पुग्न पनि मानिससँग सोध्नुपर्‍यो, कहीँ कतै बोर्ड वा संकेत देखिएन,' भारत हरियाणा हिसारबाट आएका हरजित सिंहले भन्नुभयो। जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनकपुरको पर्यटन सूचना वेबसाइट तथा ब्रोसर निर्माण गर्ने विषयलाई समावेश गरिएको जानकारी दिनुभयो। घिमिरेले पर्यटक गाइड तालिम, सूचना बोर्ड, रिक्सा र ई–रिक्सा चालकलाई तालिम आदिको व्यवस्था गर्न आवश्यक रहेको स्वीकार गर्नुभयो। अहिले हामी सहर बनाउने अभियानमा छौं,' उहाँले भन्नुभयो, 'सडक, नाला आदिको निर्माण सम्पन्न भएपछि पर्यटकमुखी कार्यक्रम ल्याउँछौं।'

सेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रामाशीष यादव पर्यटक टिकाउने कार्यक्रमको आवश्यकता औंल्याउनु भएको छ। उहाँले भन्नुभयो, 'पर्यटक त आउँछन तर टिक्दैनन्। पर्यटक टिकाउने कार्यक्रम ल्याउनुपर्छ।'

जानकारी तथा लेखहरु