फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओलीको आसन्न चीन भ्रमणमा काठमाडौं–केरुङ रेलमार्गको सम्झौता तयारी

(GMT+08:00) 2018-05-27 18:03:13

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) सम्झौताको प्रस्ताव लैजाने तयारी गरेको छ। भौतिक योजना तथा यातायात मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लक्षित गर्दै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रस्ताव प्रक्रिया अघि बढाएको नेपाल खबर अनलाइनले लेखेको छ।

भौतिक योजना मन्त्रालयले रेलमार्ग निर्माणसहित अन्य प्रस्तावको सूची परराष्ट्र मन्त्रालयलाई बुझाउँदैछ। मन्त्रालयको प्रस्तावमा हाललाई चिनियाँ रेल काठमाडौंसम्म मात्र ल्याउने तयारी छ। 'अहिलेलाई केरुङ–काठमाडौं रेलमार्गको प्रस्ताव बनाएका छौं। काठमाडौंबाट लुम्बिनी र पोखरासम्म दोस्रो चरणमा निर्माण गर्न सकिन्छ भन्ने हाम्रो बुझाई छ', भौतिक योजना मन्त्रालय स्रोतले भन्यो। काठमाडौंसम्म रेल सञ्चालनमा आएपछि त्यसको सञ्जाल विस्तार गर्न सहज हुने मन्त्रालयको बुझाइ छ।

प्रधानमन्त्रीको चीन भ्रमण अवसरमा किमाथांका, केरुङ, कोरला, तातोपानी नाकामा उच्च स्तरको सडक निर्माणको लागि पनि सम्झौता प्रस्ताव लैजाने तयारी भइरहेको छ। उत्तरी नाका भौगोलिक हिसाबले कठिन रहे पनि दुई देशबीचको 'केनिक्टिभिटी'को दृष्टिले महत्वपूर्ण रहने भन्दै दीगो सडक निर्माणको प्रस्ताव तयार पारिएको हो।

स्रोतका अनुसार सडक निर्माण प्रस्तावको सूचीमा तातोपानी नाकाको बाटो पुन:निर्माण पनि उल्लेख छ। चीनसँगको सबैभन्दा छोटो दुरीको नाका भएकोले पनि उक्त नाका सञ्चालनमा ल्याउनुपर्ने सरकारको भनाइ छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द छ। हाल तातोपानी नाका सञ्चालन गर्ने लक्षसहित चीन सरकारको सहयोगमा निर्माण मितेरी पुलदेखि ७ किलोमिटर वर लार्चामा सुक्खा बन्दरगाह निर्माणको काम भइरहेको छ। उक्त परियोजनाको कूल लागत करिब २ अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौं—केरुङ रेलमार्गको डिपीआरमै सम्झौता गर्नेगरी मन्त्रालयले तयारी गरिरहेको हो। रेलमार्ग सम्झौताका लागि प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको प्रतिनिधिमण्डलमा भौतिक योजना तथा यातायात सचिव मधुसुदन अधिकारी आफैँ सहभागी हुनसक्ने सम्भावना प्रवल छ।

गत बैशाख ८ गते भौतिक योजना तथा यातायतम मन्त्रालयको एक टोली चीन पुगेर काठमाडौं–केरुङ रेलमार्गबारे छलफल गरेर फर्किएको थियो। चीनमा भएको सहमतिपछि रेलमार्गको प्राविधिक अध्ययन गर्न जेठ ६ मा चिनियाँ टोली नेपाल आएर अध्ययन गरिरहेको छ। रेल्वे विभागका अधिकारी सम्मिलित चिनियाँ टोलीले केरुङ, रसुवागढीको स्थलगत अवलोकन गरेर विस्तृत अध्ययन गरिरहेका छन्। रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायकाअनुसार चिनियाँ टोलीले काठमाडौंमा रेल्वे स्टेशन रहने स्थान एवं रसुवाका अप्ठ्यारा डाँडा भएको ठाउँमा सुरुङमार्गबारे अध्ययन थालेका हुन्। यो अध्ययनपछि रेलमार्ग निर्माणको महत्वपूर्ण खाका तयार हुने दुवै देशका अधिकारीको विश्वास छ।

भौतिक योजना मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा भन्छन्, 'प्रारम्भिक अध्ययनले रेलमार्ग निर्माणपछि केरुङ–काठमाडौंको दूरी एक घन्टा हुने देखिएको छ। त्यस कारणले पनि दुई देशीय व्यापारका दृष्टिले रेलमार्ग महत्वपूर्ण छ।' नेपाली सीमा रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्ग करिब १०० किलोमिटर लामो हुनेछ।

केरुङ–काठमाडौं रुटमा चल्नेछ विद्युतीय रेल

यसअघि चिनियाँ सरकारी कम्पनी चाइना रेल वे इन्टरनेसनल ग्रुपले एक घण्टाभन्दा कम समयमा काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव गरेको थियो। सो कम्पनीको प्रस्तावअनुसार यो मार्गमा चल्ने रेल प्रतिघण्टा १२० किलोमिटरको स्पिडको हुनेछ। काठमाडौं–रसुवागढी विद्युतीय रेलवेको लम्बाई जम्मा १ सय ५ किलोमिटर हुने प्रस्ताव रेल विभागमा बुझाएको थियो।

रसुवागढीबाट काठमाडौं आउँदा ८ दशमलव २६ किलोमिटर दूरी जमिनमा गुड्नेछ। ९० दशमलव २ किलोमिटर सुरुङभित्र रहने तथा ६ दशमलव ५४ किलोमिटर पुलमाथि गुड्ने अध्ययनले देखाएको छ। कम्पनीको प्रस्तावअनुसार पहिलो स्टेसन रसुवागढी, दोस्रो स्टेसन स्याफ्रुबेँसी र तेस्रो स्टेसन ग्राङमा रहने उल्लेख छ। त्यसैगरी, चौथो स्टेसन नुवाकोटको बिदुर र पाँचौं स्टेसन ककनी र छैटौं स्टेसन काठमाडौंमा रहने प्रस्तावमा उल्लेख छ।

नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ। सो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जाने र अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ। सरकारको नीति तथा कार्यक्रममा मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगन्ज रेलमार्ग तथा रसुवागढी– काठमाडौं– पोखरा–लुम्बिनी रेलमार्ग निर्माण अगाडि बढाउने विषय समेटिएकाले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यो रेलमार्ग निर्माणमा सम्झौता हुने सम्भावना प्रवल छ।

जुन महिनाको दोस्रो साता प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको छ।

जानकारी तथा लेखहरु