फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस, चीनसहित बीस देशका कम्युनिष्ट नेता नेपाल आउँदै

(GMT+08:00) 2018-05-27 18:04:37
नेपालमा पहिलो पटक निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकार बनेको अवसर पारेर बीस देशका कम्युनिष्ट पार्टीका नेता नेपाल आउने भएका छन्। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा रुस, चीनलगायत करिब बीस देशका कम्युनिष्ट पार्टीका नेता नेपाल आउन लागेको नेपाल खबर अबनलाइनले लेखेको छ।

एमाले–माओवादी एकताअघि नै पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठन गरिएको आयोजक समितिले यो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ। सात सदस्यीय समितिमा तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, युवराज चौलागाईं र नेकपा मसलाका समिर सिंह छन्।

नेकपाले 'माक्र्सवाद र समाजवाद' विषयमा जेठ १६–१७ गते काठमाडौंमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलन सहभागी हुन उनीहरू नेपाल आउन लागेका हुन्। कम्युनिष्ट पार्टीहरूका साझा विचारक कार्ल माक्र्सको दुई शतवार्षिकीको सन्दर्भमा यो सम्मेलन गर्न लागिएको हो।

सम्मेलनमा आयोजकका तर्फबाट नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यपत्र प्रस्तुत गर्नेछन्। अरु देशले पनि सम्मेलनमा सहभागी हुने जानकारी दिने क्रम जारी रहेकाले २२ देशका पार्टी सहभागी हुने सम्भावना रहेको आयेजक समितिका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले बताउनुभयो। सम्मेलनमा ५० जना जति विदेशी र सय जना जति नेपाली गरी करिब डेढ सय जना सहभागी हुनेछन्।

नेपालमा संभवतः पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन गर्न लागिएको हो। रुस, चीन, भियतनाम, भारत, श्रीलंका, जापान, जर्मनी, उत्तर कोरिया, भियतनाम, लाओस, बंगलादेश लगायत देशका कम्युनिष्ट पार्टीका नेताले सम्मेलनमा सहभागी हुने जानकारी दिइसकेका छन्।

'नेपालमा हामीले निर्वाचन जितेर पहिलो पटक बहुमतको कम्युनिष्ट सरकार बनाउन सफल भयौं, त्यसैले नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एउटा केन्द्र हो भन्ने सन्देश दिन पनि यो सम्मेलन आयोजना गरिएको हो', चौलागाईंले भन्नुभयो, 'यो सफलता कसरी हासिल गर्यौं भन्ने अनुभव हामी विभिन्न देशका कम्युनिष्ट पार्टीसँग बाँड्न चाहन्छौं, साथै उनीहरूका अनुभव पनि सुन्न चाहन्छौं।'

चौलागाईंले सम्मेलनमा ओलीले नेपाली कम्युनिष्ट आन्दोलन र प्रचण्डले माक्र्सवाद र समाजवादबारे कार्यपत्र प्रस्तुत गर्ने बताउनुभयो।

काठमाडौंको याक एण्ड यती होटलमा हुने सम्मेलनको खर्च नेकपाले ब्यहोर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु