फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकको नेपाल बसाइ अवधि ३ वर्षयताकै कम

(GMT+08:00) 2018-05-27 18:08:19
पाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको कारोबार अनलाइनले लेखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल बसेर फर्केका छन्।

सन् २०१७ मा अहिलेसम्मकै बढी ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका थिए। तर, बसाइ अवधि भने घटेको हो, जुन ३ वर्षयताकै कम हो। सन् २००९ मा पर्यटकको बसाइ अवधि ११.३२ दिन थियो।

सन् २०१६ मा पर्यटकको बसाइ अवधि १३.४ दिन रहेको थियो। उक्त वर्ष ७ लाख ५३ हजार २ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१५ मा बसाइ अवधि १३.१६ दिन थियो। भूकम्पका कारण पर्यटक आगमनमै गिरावट आएको उक्त वर्षसमेत बसाइ अवधि बढेकोमा यसवर्ष भने घटेको हो।

उक्त वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०१४ मा १२.४४ दिन पर्यटक नेपाल बसेका थिए भने ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

नयाँ गन्तव्य र प्रडक्टको विकासमा चुक्दै जाँदा पर्यटकहरूको बसाइ अवधि नलम्बिएको बताउनुहुन्छ होटल संघ नेपाल (हान) का महासचिव विनायक शाह। "पर्यटकलाई नयाँ कुराहरू देखाएर नेपालमा राख्न सकेका छैनौं, जसका कारण पर्यटक बस्ने अवधि घटेको हो," शाहले भन्नुभयो।

नेपालका खासगरी काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा मात्रै बढी पर्यटक जाने गरेका छन्। नेपालमा अन्य भागमा पूर्वाधार खडा गर्न नसक्दा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकिएको हो।

सन २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४६ प्रतिशतले बढी हो।

गत वर्ष तीन महिनामा दुई लाख ५३ हजार नौ सय ८४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यही वृद्धिदर कायम रहे सन् २०१८ को अन्त्यसम्ममा ११ लाख पर्यटक हाराहरी नेपाल भित्रिने अनुमान छ।

जानकारी तथा लेखहरु