फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष ४०० बढि सगरमाथा शिखरमा, ३६ करोड राजश्व संकलन

(GMT+08:00) 2018-05-29 16:31:47

यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ। वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो। यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन्। अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको राससले जनाएको छ।

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रू ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको हो। विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट रू ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ। सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ। यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ।

विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ भने शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ। यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन्। खुम्बु फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ। यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो। शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो। यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो भने सन् २०१५ मा २२ आरोहीले ज्यान गुमाएका थिए। सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए। यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको छ।

जानकारी तथा लेखहरु