फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा वैदेशिक लगानी दस वर्षमा आठ गुणा बढ्यो

(GMT+08:00) 2018-05-30 18:20:36

राजनीतिक अस्थिरता र औद्योगिक क्षेत्रमा निरन्तर बल्झिरहने अनेकन् समस्याबाट पार पाउँदै नेपालले पछिल्लो समय वैदेशिक लगानी भित्र्याउने सकारात्मक सफलता हासिल गर्न थालेको छ।

गणतन्त्र घोषणाको एक दशक पूरा भइसक्दा नेपालले प्राप्त गरेको वैदेशिक लगानीको तथ्याङ्कले पनि यसलाई प्रमाणित गर्छ। नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि चालु आर्थिक वर्षको नौ महिनासम्म नेपालले प्राप्त गरेको त्यस्तो लगानी करिब आठ गुणाले बढेको छ।

तथ्याङ्क अनुसार आधार वर्ष अर्थात् गणतन्त्र घोषणापछिको आर्थिक वर्षमा नेपालले एक अर्ब ८ करोड २९ लाख रुपियाँ वैदेशिक लगानी प्राप्त गरेको थियो। एक दशकको अन्तरमा यस्तो लगानी १४ अर्ब ४० करोड ५० पाँच लाख रुपियाँ पुगेको छ। यो लगानी चालु आवको नौ महिनासम्मको मात्र हो।

दस वर्षको अवधिमा नेपालले प्राप्त गरेको वैदेशिक लगानीको प्रवृत्ति उतार चढावपूर्ण देखिएको गोरखापत्रअनलाइनले लेखेको छ। तत्कालीन राजनीतिक परिस्थिति र प्राकृतिक विपद्को अवस्थाले पनि नेपालको विदेशी लगानी प्रभावित बनेको देखिन्छ।

गणतन्त्र घोषणापछि राजनीतिले एउटा 'कोर्स'लिएको विश्वासमा लगानीकर्ताले नेपालमा लगानी बढाएको पाइन्छ। भूकम्पपछि बढेको पुनर्निर्माण तथा संविधान जारी पछिको अवस्थाले लगानीकर्तामा बढेको आशा त्यसपछिको आर्थिक वर्ष २०७३/७४ मा देखियो। त्यतिबेला नेपालले त्यसको अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् १३ अर्ब ५० करोड रुपियाँ वैदेशिक लगानी भित्र्यायो।

दस वर्षको अन्तरमा सरकारले वैदेशिक लगानी प्रबर्द्धनका लागि २०६८ सालमा लगानी बोर्ड स्थापना गर्यो। नेपालका सम्भावित लगानी क्षेत्रको विदेशमा प्रवद्र्धन गर्ने तथा ठूला आयोजना कार्यान्वयनमा लैजाने जिम्मासहित बोर्ड अहिलेसम्म सञ्चालनमा छ। यसबाहेक वैदेशिक लगानी भित्र्याउन २०७३ फागुनमा सरकारले वैदेशिक लगानी सम्मेलनको आयोजना गरेको थियो। सो सम्मेलनबाट नेपालले १४ खर्ब रुपियाँभन्दा बढीको ऐतिहासिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसबाहेक निजी क्षेत्रबाट पनि लगानी भित्र्याउने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरका सम्मेलन यसबीचमा आयोजना भए।

विदेशी लगानीका रूपमा नेपालमा अहिलेसम्म सबैभन्दा धेरै लगानी गरेको होङ्सी सिमेण्टले आफ्नो व्यावसायिक उत्पादनको परीक्षण गरिसकेको छ। केही महिनाभित्रै बजार प्रवेश गर्ने उक्त सिमेण्टले नेपालमा ३६ अर्ब रुपियाँ लगानी गरेको छ।

जानकारी तथा लेखहरु