फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण

(GMT+08:00) 2018-05-31 16:44:28

नेपालमा पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। आइतबारदेखि शुरु गरिएको पढाइमा ४०६ विद्यार्थी छन्। प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए। इन्टरनेटका माध्यमबाट अध्ययन गराइने विश्वविद्यालयमा डिप्लोमा, पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्मको अध्ययनअध्यापन हुने राससले जनाएको छ।

विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले नयाँ विषय र घरमा बसी पढ्न सकिने भएकाले विश्वविद्यालयमा आकर्षण बढेको बताए। पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेकाहरुले जुनसुकै स्थानबाट पढ्न सक्ने पनि उनले बताए।

व्यवस्थापन र कानून सङ्काय, सामाजिकशास्त्र तथा शिक्षा सङ्कायबाट साधारण विषयदेखि इञ्जिनीयरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने र विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायबाट प्राविधिक तथा व्यावसायिक सीपदेखि विज्ञान विषयको अध्ययन हुनेछ।

प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट स्वअध्ययन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ। सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ।

विश्वविद्यालयले डेढवर्षीय पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा 'इ–लर्निङ'मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरिएको छ।

शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन्। अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ।

सरकारले सङ्घीय संसद्बाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने पनि बताए।

जानकारी तथा लेखहरु