फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे १० महिनामा ३२ अर्बको सुन आयात

(GMT+08:00) 2018-06-01 17:02:23

चालु आवको साढे १० महिनामा बैंकिङ प्रणालीबाट करिब ३१ अर्ब ९० करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। चालु वर्षको जेठ १६ सम्ममा ६ हजार हजार तीन सय ५० किलो सुन आयात भएको हो। बजारमा अहिले प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय ४० रुपैयाँ छ। यो हिसाबले एक वर्षमा उक्त रकम बराबरको सुन मुलुकमा भित्रिएको नागरिकन्यूजले लेखेको छ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको जेठ १६ सम्म ६ हजार तीन सय ५० किलो सुन बैकिङ प्रणालीबाट आयात भएको छ। आर्थिक वर्ष ०७३/७४ भरीमा ६ हजार चार सय ५५ किलो आयात भएको थियो।

बैंकहरुले एकपटकमा ५० किलो सुन ल्याउने गरेका छन्। २०७३ फागुनदेखि दैनिक २० किलो र चाडपर्वमा थप दैनिक पाँच किलो आयात गर्दै आएका छन्। यसअघि दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउँथे। अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्। केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ।

यसअघि सरकारले विदेशमा कार्यरत नेपालीले स्वदेश फर्किंदा ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकिङ प्रणालीबाट सुन आयात बढेको थियो। तर, अर्थमन्त्री युवराज खतिवडाले गत मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट फर्किने नेपालीले एक सय ग्रामसम्म काँचो सुन भन्सार तिरेर आयात गर्न सक्ने व्यवस्था गरेपछि फेरि बैंकिङ च्यानलबाट सुन आयात घट्ने र गैरबैंकिङ प्रणालीबाट बढी भित्रिने अनुमान गरिएको छ।

यसअघि पनि वैदेशिक रोजगारीमा गएका नेपालीले ५० ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्थाले सुन अवैधानिक तवरले बजारमा बिक्री भएको आंशका गरिएको थियो। त्यसपछि सरकारले त्यसरी सुन ल्याउन प्रतिबन्ध लगाएको थियो। यस्तो प्रतिबन्धपछि बैंकिङ प्रणालीबाट सुन आयात बढेको थियो। आर्थिक वर्ष ०७५/७६ देखि पुनः सरकारले वैदेशिक रोजगारीमा गएकाले एक सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेपछि बैंकिङ च्यानलबाट सुन आयात कम हुने अनुमान गरिएको छ।

सुन व्यवसायीलाई भने सरकारले ल्याएको नयाँ व्यवस्थाले फाइदा पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। साथै उनले प्रत्येक वर्ष सुन आयात बढ्दै गएको भन्दै गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सुन आयात बढ्ने अनुमान गरे।

जानकारी तथा लेखहरु