फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सडकमै जान्छ वर्षेनी २ हजारको ज्यान

(GMT+08:00) 2018-06-02 15:01:47

मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ। चालु आव २०७४-७५ को वैशाख मसान्तसम्म भएका ९ हजार ५० वटा दुर्घटनाबाट मात्रै २०९७ जनाको मृत्यु भएको अन्न्पूर्णपोस्टले लेखेको छ।

आव २०६८-६९ देखि २०७४-७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विगत सात वर्षमा देशभरि भएका ६४ हजार १ सय ६८ वटा दुर्घटनामा १३ हजार ९ सय ३१ जनाले अनाहकमा ज्यान गुमाएका छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले चालक तथा अन्य व्यक्तिबाट हुने मानवीय त्रृटि, सडक तथा भौगोलिक दूरावस्थाका कारण दुर्घटना हुने गरेको बताए। गल्ती गर्नेहरूलाई ट्राफिकहरूले पटकपटक कार्वाही गर्दा समेत सवारी चालकहरूले त्यसलाई संवेदनशीलतापूर्वक ग्रहण गर्न नसक्दा समेत दुर्घटना हुने क्रम बढेको उनले बताए।

गृह मन्त्रालयका विपत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विभिन्न खाले सडक दुर्घटनाबाट औसतमा वर्षेनी २ हजार व्यक्तिको मृत्यु हुने कहालीलाग्दो अवस्था रहेको बताए। सहसचिव न्यौपानेले सडकको दूरावस्था, सरकारी संयन्त्रको समन्वयको अभाव र चालकको लापारवाहीका कारण सडक दुर्घटना हुने क्रम बढ्दै गएको जानकारी दिए।

सडकको अवस्था हेर्ने सडक विभाग, गाडीको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय हुन नसक्दा कहालीलाग्दा दुर्घटनाहरू हुने गरेको पनि सहसचिव न्यौपानेले दाबी गरे।

जानकारी तथा लेखहरु