फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन

(GMT+08:00) 2018-06-02 15:40:13

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुने राससले जनाएको छ।

उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले प्रत्येक वर्षको जुन ३ मा मनाइने 'अन्नपूर्ण डे'को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको बताए।

जेठ २० गते बिहान साढे ६ बजे चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु भएर एक हजार ६९० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर म्याराथन समापन हुने छ।

धावकहरूले ४२.१९५ किमी दूरी पूरा गर्ने छन्। म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ।

अन्नपूर्ण म्याराथनका प्रमुख निर्णायक एवं राष्ट्रिय खेलकूद परिषद्का एथ्लेटिक्स विभागका प्रमुख प्रशिक्षक कृष्ण बस्नेतका अनुसार प्रतियोगितामा नेपालका चर्चित धावकहरू नेपाली सेनाका हरि रिमाल, होमलाल श्रेष्ठ, पूर्ण तामाङ, शेखराज चौलागार्इं, नेपाल प्रहरीका भूमिराज राई र भारतीय सेनाका धनबहादुर घर्ती मगरले समेत भाग लिँदैछन्।

जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको यही सन्दर्भ पारी म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरमा अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको शालिक निर्माण गरिने भएको छ।

म्याराथनमा प्रथम हुने धावकले रु एक लाख, दोस्रोले रु ७० हजार, तेस्रोले ५० हजार नगद पुरस्कार पाउने र उत्कृष्ट १० जनाभित्र पर्ने धावकले सान्त्वना पुरस्कार पाउने छन्।

जानकारी तथा लेखहरु