फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपालसँग आकर्षक विद्युत् आयोजना निर्माण गरिदिने प्रस्ताव

(GMT+08:00) 2018-06-03 14:08:28

चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै नेपाल सरकारसँग प्रस्ताव माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको कान्तिपुर अनलाइनले लेखेको छ। प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै हुनुहुन्छ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले मागेअनुसार ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याएको छ। यो सूची परराष्ट्र मन्त्रालयमा पठाइसकिएको ऊर्जा मन्त्रालयले जनाएको छ। ती आयोजनासम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदनसमेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाको नाम पठाएको छ। यस्तै प्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको नाम पठाएको छ।

चिनियाँ पक्षले आयोजना र प्रसारण लाइनको निर्माणमा चासो देखाएको ऊर्जामन्त्री वर्षमान पुनले बताउनुभयो। उहाँले सरकारले तमोर, किमाथांका अरुण र नलसिंहगाड आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल–चीन प्रसारण लाइन निर्माणका लागि पनि चिनियाँ पक्षले चासो देखाइरहेको छ। पहिलो नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका निम्ति ग्रिड कर्पोरेसन अफ चाइनाले जेठ पहिलो साता विद्युत् प्राधिकरणलाई पत्र पठाएको थियो। ग्रिड कर्पोरेसन अफ चाइनाले आआफ्नो भूभागको प्रसारण लाइन निर्माणको खर्च बेहोर्ने भन्दै प्राधिकरणलाई प्रस्ताव पेस गरेको हो। यो प्रसारण लाइन धादिङको गल्छीदेखि चीनको केरुङ हुँदै सिगात्सेसम्म पुग्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनले एक जलविद्युत् आयोजना र प्रसारण लाइन उपहारस्वरूप बनाइदिने र केही आयोजनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सम्भावना छ। हाल विभिन्न चिनियाँ कम्पनीले कुल ८ सय ५० मेगावाट क्षमताका ११ आयोजनामा काम गरिरहेका छन्।

चिनियाँ राजदूत यु होङले केही अघि ऊर्जामन्त्री वर्षमान पुनसँगको भेटमा चिनियाँ सरकारको सन्देश सुनाउनु भएको थियो। चीनका लागि नेपाली चिनियाँ राजदूत लीलामणि पौडेलले पनि ऊर्जामन्त्री पुनलाई भेट गर्नु भएको थियो। पौडेलले पनि जलविद्युत् आयोजना बनाइदिने चिनियाँ चासोबारे मन्त्रीलाई जानकारी गराउनु भएको थियो। विभिन्न क्षेत्रका आयोजनालाई चीनले गर्न सक्ने सहयोगको सम्बन्धमा चिनियाँ पक्षले परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग लगातार छलफल गरिरहेको छ। प्रधानमन्त्री ओली आफ्नो पहिलो कार्यकालमा चीन भ्रमण जाँदा पनि नेपाली पक्षले केही जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने गृहकार्य गरेको थियो। २०७२ मा भएको ओलीको चीन भ्रमणको क्रममा पारवहन र व्यपारसम्बन्धी सम्झौता भए पनि जलविद्युत् सम्बन्धी कुनै सम्झौता भएन।

कस्ता छन् नेपालले प्रस्ताव गरेको विद्युत् आयोजना

तमोर : ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना अहिले अध्ययनको चरणमा छ। यसको विस्तृत परियोजना र अध्ययन र डिजाइनका लागि नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यसको अध्ययन अघि बढाएको हो। आयोजनाले तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लालाई छुनेछ।

किमाथांका अरुण : विद्युत् उत्पादन कम्पनी लिमिटेडले ४५० मेगावाटको किमाथांका अरुणको अध्ययन गरिरहेको छ। यो आयोजनाका लागि विद्युत् विकास विभागले उसलाई २०७४ मा यो आयोजनाको अध्ययन अनुमति दिएको थियो।

उत्तरगंगा : ३ सय मेगाावट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनाको विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ। बागलुङमा बन्ने यो आयोजनाको विस्तृत अध्ययन जारी छ। यसलाई सजिलै र चाँडै निर्माण गर्न सकिने आयोजना मानिएको छ।

नलसिंहगाड : जाजरकोटको खगेनकोट दल्लीमा निर्माण हुने ४१० मेगावाट क्षमताको यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको क्रममा छ। साथै आयोजना निर्माणका लागि प्रभावितलाई मुआब्जा वितरण हुने क्रममा छ। आर्थिक वर्ष २०७४/७५ मा आयोजनालाई ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

जानकारी तथा लेखहरु