फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिक्षक–विद्यार्थी यार्चा टिप्न गएपछि विद्यालय बन्द

(GMT+08:00) 2018-06-04 14:39:58
शिक्षक र विद्यार्थी यार्चा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन्। बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन्। यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन्। यहाँ पुथा हिमालय माविका अतिरिक्त पुसर, पेल्मा, गुइवाङ, तिञ्ज्याङ, हर्दिवाङ र रन्मा आधारभूत विद्यालय रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

अघिल्ला सिजनमा जस्तै यसपालि पनि बर्खे बिदा कटौती गर्ने गरी शिक्षक र विद्यार्थी बुकीतिर लागेका हुन्। 'गाउँका र केही बाहिरका शिक्षक बुकी पुग्नुभएको छ, विद्यार्थी भने लगभग सबैजसो बुकीतिरै छन्,' स्थानीय कर्म घर्तीले भन्नुभयो। पुथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुन पनि बुकीमै हुनुहुन्छ। उहाँले यार्चा टिप्न सबै विद्यार्थी जाने भएकाले विद्यालय बन्द गरिएको बताउनुभयो। 'अभिभावकसँगै सबै विद्यार्थी बुकी उक्लिन्छन्, हामी शिक्षक मात्रै गएर भएन, त्यसैले हरेक सिजनजस्तै यसपालि पनि विद्यालय बन्द गरेका हौं,' पुनले भन्नुभयो।

स्थानीयको आम्दानीको मूल स्रोत नै यार्चा भएकाले सर्वसाधारणसहित विद्यार्थीको ध्यान बुकीतिर जाने गरेको छ। 'खास कमाइ हुने सिजनलाई मान्छेले छाड्न चाहन्नन्, त्यसैले वर्षे बिदा कटाउने गरी यस सिजनमा विद्यालय बिदा दिने गरेका छौं,' पुनले भन्नुभयो।

केही वर्षयता यार्चा पाइने वन क्षेत्रका विद्यालय मात्रै बन्द गर्न थालिएको हो। पहिले आसपासका विद्यालय पनि बन्द गरिन्थे। पहिले यार्चा सिजनमा विद्यालय दुई महिनासम्म बन्द हुन्थे। अहिले त्यसलाई एक महिनामा झारिएको छ। यार्चा संकलन खुला हुनुभन्दा केही दिन पहिला नै विद्यालय बन्द गरिन्छन्। पुथाउत्तरगंगा गाउँपालिकाका दुई वडाका पुपाल, अर्विजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, निम्कु, पानी ढल, फूलबारीलगायत ठाउँमा यार्चा पाइन्छ।

'यार्चा टिप्ने समय हाम्रा लागि महत्त्वपूर्ण छ, यसमा को शिक्षक, को विद्यार्थी, को अभिभावक भन्ने हुन्न, सबै यार्चा खोज्ने नै हुन्छन्,' स्थानीय भरतकुमार पुनले भन्नुभयो।

जानकारी तथा लेखहरु