फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र भारतबीचको सीमामा ६४ नयाँ स्तम्भ थपिए

(GMT+08:00) 2018-06-06 16:57:03

नेपाल–भारत सीमा क्षेत्रमा थप ६४ वटा नयाँ सीमास्तम्भ थपिएका छन्। सीमास्तम्भ व्यवस्थापन गर्न दुवै देशका अधिकारीको सहभागितामा ४ वर्षअघि 'फिल्ड वर्क टिम' बनेको थियो। त्यही टिमको अगुवाइमा सन् २०१४ देखि सीमास्तम्भ व्यवस्थापन हुँदै आएको कान्तिपुर अनलाइनले लेखेको छ।

आइतबार भएको सीमा सर्वेक्षण बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ वर्षभित्र ६४ वटा नयाँ सीमास्तम्भ निर्माण भएको जानकारी दिनुभयो। उहाँका अनुसार एउटा मुख्य र बाँकी सहायक स्तम्भ हुन्। ५ वटा मर्मत गरिएको छ। बैठकले हराएका स्तम्भ खोजबिन गरी मर्मत र पुनर्निर्माणमा जोड दिएको छ। बैठकपछि प्रजिअ दाहालले भन्नुभयो, 'सीमामा पिलर नहुँदा समस्या हुने गरेको छ, त्यसैले हराएका स्तम्भ खोज्ने, टुटफुट भएकालाई मर्मत गर्नेमा हामी सहमत भएका छौँ।'

बैठकमा इलामका प्रजिअ श्रवणकुमार तिम्सिना, पाँचथरका प्रकाश अधिकारी, मोरङका रामप्रसाद आचार्य र सुनसरीका प्रेमप्रकाश उप्रेतीलगायत सहभागी हुनुहुन्थ्यो। भारततर्फबाट सुपौलका डिस्ट्रिक्ट मेजिस्ट्रेड विद्यानाथ यादव, किसनगन्जका महेन्द्र कुमार र हिमांशु शर्मा सहभागी हुनुहुन्थ्यो। पश्चिम बंगालको दार्जिलिङ जिल्लाबाट सीमासुरक्षा बल र वनका अधिकारी सहभागी हुनुहुन्थ्यो।

यसअघि झापामा मात्रै २ सय ५४ स्तम्भ 'गायब' रहेको नापी विभागले जनाएको थियो। सीमामा हराएका भनिएका स्तम्भहरूको खोजी गरी तिनलाई पुरानै स्थानमा स्थापना गर्न विभागले काम सुरु गरिसकेको छ। नापी विभागका अनुसार झापामा कुल ९ सय ८९ वटा साना, ठूला र मझौला स्तम्भमध्ये २ सय ५४ वटा गायब छन्। झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङमा रहेको ११७ नम्बरको सीमास्तम्भबाट खजुरगाछीको १५२ नम्बर स्तम्भसम्मको करिब १ सय ४६ किलोमिटरमा सानो, मझौला र ठूलो गरी ९ सय ८९ वटा स्तम्भ छन्।

८ वर्षअघि नेपाली अधिकारीको टोलीले झापामा सीमा विवाद रहेका स्थान, स्तम्भहरूको निरीक्षण र अनुगमन गरेको थियो। अनुमगनपछि टोलीले ५६ ठूला, ३ मझौला र २ सय ५७ वटा साना गरी ३ सय १६ वटा स्तम्भ दुरुस्त अवस्थामा रहेको, १ सय २ वटा ठूला, १९ मझौला र २ सय ५० वटा साना गरी ३ सय ७१ वटा स्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

जानकारी तथा लेखहरु