फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी असार १४ मा अवतरण गर्दै

(GMT+08:00) 2018-06-07 14:20:47

नेपाल वायुसेवा निगमले यही असार १४ गते आफ्नो पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गर्ने भएको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निर्मातामार्फत पहिलो जहाजको काठमाडौं अवतरण असार १४ गते हुने जानकारी आएको बताउनु भएको कान्तिपुर दैनिकले लेखेको छ। 'पहिलो विमान जुन २८ (असार १४) गते बिहान काठमाडौंमा अवतरण गर्ने टामइलाइन छ,' कंसाकारले भन्नुभयो।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको छ। यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ। निगमले यी दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको छ।

कंसाकारका अनुसार एउटा जहाज तयार भइसकेको छ भने अर्को अन्तिम चरणमा रहेको छ। दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौंमा अवतरण गरेको डेढ/दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ। महाप्रबन्धक कंसाकारका अनुसार फ्रान्सबाट उड्ने पहिलो विमानले साढे ८ घण्टाको उडान भर्नेछ। पहिलो उडानलाई फेरीफ्लाइट भनिन्छ। फेरीफ्लाइट एयरबसकै पाइलटहरूले गर्नेछन्। विमान लिन केही सातापछि निगमको प्राविधिक टोली फ्रान्स जाने तयारीमा छ।

नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ सिट छन्। पहिलो विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहो–काठमाडौं सेक्टरमा उडान भर्नेछ। तीन महिनापछि मात्रै नयाँ रुटमा उडाउने कंसाकारले बताउनुभयो। 'एउटा नियम रहेछ, नयाँ विमानले सुरुमा नयाँ रुटमा उड्न नपाउने, पुरानै रुटमा उडेको २/३ महिनापछि मात्रै नयाँ रुटमा उड्नुपर्ने रहेछ,' कंसाकारले भन्नुभयो।

नयाँ विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन चैतमा निमित्त महाप्रबन्धक गणेश चन्द, पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेलसहित ८ जना अधिकारीहरू चैतमा फ्रान्सको टुलुज पुगेर फर्किसकेका छन्। उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी थिए।

यो टोलीपछि जहाजको अवस्था हेर्न फेरि महाप्रबन्धक कंसाकारसहित पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगम सञ्चालक समितिका सदस्य अच्युतराज पहाडी, मुक्तिराम पाण्डे र निमानुरु शेर्पा पनि फ्रान्स घुमेर फर्किसक्नु भएको छ। उहाँहरूले जहाजको अवस्थाबारे कुनै प्रतिवेदन सार्वजनिक भने गरिसक्नु भएको छैन।

कंसाकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमान आगमनपछि अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरिसकेका छन्। 'वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो। लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ,' कंसाकारले त्यस सम्मेलनमा भन्नुभएको थियो, 'सिड्नी, जापान, कोरिया, दम्माम र युरोपियन सहरमा जानैपर्छ।'

२०४६ सालताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो। तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरू हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहो र दुबईमा मात्रै उडान भर्दै आएको छ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ मात्र छन्।

जानकारी तथा लेखहरु