फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुम्ला भएर मानसरोबर जाने भारतीय तीर्थयात्री घटे

(GMT+08:00) 2018-06-07 14:22:42

भिसालगायत प्रवेषाज्ञामा भएको झन्झटिलो प्रक्रियाको कारण यस वर्ष हुम्ला भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या घटेको छ। जटिल प्रक्रिया झेल्न नसक्दा कतिपय तीर्थयात्री चीनको सीमा हिल्सा पुगेर पनि फिर्ता भएका छन्।

गत वर्ष सिमकोट भएर करिब १५ हजार भारतीय मानसरोवर गएका थिए। यस वर्ष करिब १० हजारको संख्या जाने ट्रेकिङ व्यवसायीको भनाइ रहेको कान्तिपुर अनलाइनले लेखेको छ। सिमकोट, विमानस्थलस्थित प्रहरी इकाईका अनुसार वैशाख तेस्रो सातादेखि बुधबारसम्म करिब तीन हजार तीर्थयात्री मानसरोवर गएका छन्। यो यात्रा असोज मध्यसम्म चल्ने गर्छ। 'चीन सरकारले यात्रामाथि कडाइ गरेपछि मानसरोवर जानेको संख्या हवात्तै घटेको छ,' एक व्यवसायीले भने, 'यो समस्यालाई सरकारीस्तरबाटै समाधान गरिनुपर्छ।'

यसअघि भारतीय तीर्थयात्रीले आफ्नो देश र नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रवेशाज्ञा (भिसा) लिन पाउँथे। सजिलोका लागि अधिकांशले नेपाली ट्रेकिङ व्यवसायीमार्फत काठमाडौंमै भिसा बनाउँथे। यो वर्षदेखि भने चीनले नेपालबाट भिसा दिन बन्द गरेको छ। भिसामा मात्र होइन, यात्राको क्रममा समेत कडाइ गरिँदा समस्या हुने गरेको तीर्थयात्रीको भनाइ छ। सिमकोटबाट हेलिकप्टरमा हिल्सा पुगेपछि चिनियाँ गाइड र सहयोगीबिना प्रवेश दिइँदैन।

विगतमा गाइड चिनियाँ भए पनि सहयोगी स्थानीय नेपाली हुन्थे। तर, चिनियाँ गाइड र सहयोगीबाट अपेक्षाकृत व्यवहार नपाउँदासमेत भारतीय तीर्थयात्रीले असहजता महसुस गर्ने गरेका छन्। केही दिनअघि हिल्सा पुगेको २४ जनाको टोली चार दिन हिल्सामै बसेर आफ्नो देश फर्किएको थियो। 'उताबाट समयमा गाइड र सहयोगी आइदिएनन्, यसले सायद तीर्थयात्रीलाई अपमानको महसुस भयो होला,' सिमकोटस्थित एक ट्रेकिङ व्यवसायीले भने, 'त्यसपछि फिर्ता भएर गए।' विगतमा जुनसुकै उमेरका व्यक्तिलाई पनि प्रवेश दिइन्थ्यो। यो वर्षदेखि चीन सरकारले ७० वर्षभन्दा माथिका व्यक्तिलाई प्रवेशाज्ञामा बन्देज गरेको छ। त्यसैले पनि तीर्थयात्री घटेका व्यवसायीको भनाइ छ।

अहिले सिम्रिक, फिस्टेल, मनाङ, कैलाश, अल्टिच्युडलगायत कम्पनीका १० हेलिकोप्टर सिमकोटमा छन्। विगतमा यतिबेला यी हेलिकप्टरलाई यात्रु ओसार्न भ्याइनभ्याई हुन्थ्यो। आम्दानी पनि राम्रै हुन्थ्यो। यस वर्ष भने यात्रु कम हुँदा हेलिकप्टर व्यवसायी निरास छन्। 'पोहोर–परारजस्तो राम्रो छैन, तीर्थयात्री निकै कम आइरहेका छन्,' सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले भन्नुभयो, 'यसको असर सबै क्षेत्रमा परेको छ।'

ट्रेकिङ व्यवसायी पनि यस्तै निराशा व्यक्त गर्छन्। हाल काठमाडौंमा रहेका एक व्यवसायीले चीनले एक्कासि भारतीयको यात्रामा कडाइ गरेपछि संख्या घटेको बताए। 'यो त हामी वा हाम्रो सरकारले बुझ्ने कुरा भएन,' नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले भने, 'यसको समाधान छिटो भए सबैलाई राम्रो होला।'

जानकारी तथा लेखहरु